काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको बताएका छन्। ‘ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको छ,’ देउवाले भने, ‘उनले चाहेर पनि सत्ता कब्जा हुँदैन।’
शुक्रबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा देउवाले प्रधानमन्त्री ओलीलाई हटाउन सबै लाग्नुपर्ने बताए। ‘उनलाई हटाउन हामी सबै लागौं,’ देउवाले भने। उनले चुनावमा जानुपर्ने स्थिति पनि आउन सक्ने भएकोले तयार रहन आग्रह गरे।
‘सरकार गठन भए ठीकै भयो, भएन भने निर्वाचनमा जानुपर्ने हुन सक्छ, निर्वाचन बाध्यता हुन सक्छ। पार्टीको सरकार भएन भने पनि देशको निर्वाचन तथा पार्टीको अधिवेशनमा लाग्नुपर्नेछ। वर्तमान सरकारको विकल्प पनि खोज्नुपर्ने छ, यी दुवै काम प्राथमिकतामा छन्,’ उनले भने। देउवाले आफू प्रधानमन्त्री हुन लालायित नरहेको बताए।
उनले भने, ‘म आफैँ प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन, वास्तविक धरातलमा बसेर काम गर्नुपर्छ, अहिले परिस्थिति अनुकूल छैन, मैले मै प्रधानमन्त्री हुनुपर्छ भनेको छैन, व्यक्ति खडा गरौँ पार्टीको सिद्धान्त र आदर्शसँग कसैसँग सम्झौता गर्दिन।’ देउवाले व्यवस्था अस्तव्यस्त बनाउन वर्तमान प्रधानमन्त्री उद्यत रहेको आरोप लगाउँदै यस किसिमका गलत प्रवृत्तिका विरुद्ध एकजुट हुन पनि आह्वान गरे।



लोकपाटी न्यूज

