काठमाडौं। नेपाली कांग्रेसले आयोजना गरेको तीन दलको बैठक शुरु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार अपरान्ह नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सहितको बैठक शुरु भएको हो।
नयाँ सत्ता समीकरणका विषयमा ठोस् निर्णय गर्न तीन दलका नेताहरु छलफलमा बसेका हुन्। सभापति देउवाको आह्वानमा भएको बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्रीहरु डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन्।
नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भएका छन्। यस्तै जनता समाजवादी पार्टीबाट संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्। नयाँ सत्ता समीकरणलाई लिएर दुई धार देखिएको जसपाका शीर्ष नेताहरु सबै आजको बैठकमा सहभागी भएका छन्।
यसअघि अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमनत्री केपी शर्मा ओलीसँग र अध्यक्ष यादव र भट्टराई पक्ष कांग्रेस माओवादीसँग छलफलमा थिए। मध्यावधि निर्वाचनको पक्षमा रहेका सभापति देउवा पार्टीभित्रको दबाब र माओवादी केन्द्रसँगको निरन्तर छलफलपछि नयाँ सत्ता समीरकणबारे छलफल गर्न तयार भएका हुन्। आजको बैठकबाट नयाँ सत्ता समीकरणका विषयमा सहमति हुन सक्ने बैठकमा सहभागी एक नेताले बताए।



लोकपाटी न्यूज

