मोरङ। नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन विभिन्न जिल्लामा संगठन विस्तार गरेको बताएका छन्। शुक्रबार विराटनगर आइपुगेका उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले जिल्लामा गठन हुने कमिटीबाट पार्टी फुटाउने होइन यसबाट कार्यकर्तामा उत्साह थपिनुका साथै पार्टी एकताबद्ध हुने धारणा राखे।
नेता नेपालले पार्टीले लोकतान्त्रिक संघीयताको मूल्य र मान्यता कायम राखी मुलुकमा सुशासनसहित जनताको जीवनस्तर उकास्ने कार्यमा जिल्ला दौडाहा कार्यमा लागेको विचार व्यक्त गरे। पूर्वप्रधानमन्त्री नेपालले अदालतको आदेशलाई आफूले सम्मान गर्ने बताउँदै पार्टीमा विसं २०७५ जेठ २ गते अगाडिको सबै निर्वाचित सबै पदाधिकारी कायम रहनुपर्नेमा जोड दिए।
एक प्रश्नको जवाफमा उनले प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्ताव फिर्ता केही बाध्यताका कारण भएको बताए। उनले वर्तमान पार्टी नेतृत्वले कार्यकर्ताको मनोबल घटाएको, संगठन छिन्नभिन्न बनाएको आरोप लगाउँदै सबै कार्यकर्तालाई एकताबद्ध गरी सुदृढ पार्टी बनाउने दाबीसमेत गरे। -रासस



लोकपाटी न्यूज

