मन्त्रालय गएनन् सांसदसँगै मन्त्री पद गुमाएका चार मन्त्रीहरु

लोकपाटी न्यूज

काठमाडौँ। सांसदबाट पदमुक्त भएसँगै मन्त्री पदसम्म गुमाएका चार मन्त्रीहरु आज मन्त्रीहरु मन्त्रालय गएनन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सरकारमा सहभागी ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशंकर चौधरी अरु राजनीतिक दलकाे गतिविधिमा संलग्न्न भएकाे र केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराएका थिए।

उक्त जानकारीसँगै उनीहरुको मन्त्री पद समेत गुमेको छ। उनीहरु पुनः सपथको खबर कुरिरहेका छन्। सांसद नभएकाले पनि ६ महिना मन्त्री बन्न सक्ने व्यवस्था बमोजिम उनीहरुलाई पुनः मन्त्रालयको जिम्मा दिने आंकलन गरिएको छ। पार्टी नै परित्याग गरेर आएको कारणले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिनसक्ने अनुमान गरिएको हो।

तर, उनीहरू पुनः मन्त्रीमा नियुक्त हुन्छन् या हुँदैनन् भन्नेबारेमा अहिलेसम्म केही पनि बताइएको छैन। तथापी प्रभु शाहले भने प्रकृया मिलेपछि पुनः मन्त्रालयको जिम्मेवारी पाउने आश व्यक्त गरेका छन्। अब उनीहरु मन्त्री बन्नको लागि  संविधानको धारा ७८  प्रयाेग गर्नुपर्छ। याे धाराअनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ। तर उनिहरुकाे अबधी ६ महिनाकाे लागी मात्रै हुने व्यवस्था छ वा उनिहरु ६ महिनाभित्र  प्रतिनिधिसभा वा राष्ट्रियसभामध्ये एकको सदस्यता प्राप्त गर्नुपर्नेछ। याे  धाराबाट ६ महिनाको लागि मन्त्री बन्नसक्ने भए पनि उनीहरुले पुनः सपथ ग्रहण गर्नुपर्ने हुन्छ।

उनीहरुको सपथग्रहरणबारे राष्ट्रपति कार्यालय शितल निवासमा हालसम्म कुनै तयारी भएको छैन। त्यस्तै, आज सपथको सम्भावना कम रहेको स्रोतको भनाई छ ।