काठमाडौं। नयाँ सरकार गठनका लागि छलफल गर्न आज नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को बैठक बस्न लागेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका हुन्।
आज दिउँसो ३ बजे छलफलका लागि तीनै दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। तीन दलको बैठकमा समसामियक राजनीतिक अवस्थासँगै सत्ता साझेदारीबारे छलफल हुने पौडेलले बताए। नयाँ सरकार गठनका लागि साझा धारणा बनाइने उनको भनाइ छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पलह गर्ने निर्णय गरेको थियो। त्यहिअनुरुप माओवादी र जसपासँग छलफल गर्न देउवाले अग्रसरता लिएका हुन्।
तीनै दल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्ने पक्षमा एकमत छन्। तर, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन भने जसपा प्रधानमन्त्री ओलीसँग वार्तामा छ। जसले गर्दा ओली सरकार विस्थापित गर्न र नयाँ सरकार गठन गर्न अलमल भइरहेको कांग्रेसको आरोप छ।



लोकपाटी न्यूज

