काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ। माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित बोहोरालाई २४ घण्टाभित्र जवाफ माग्दै बुधबार स्पष्टीकरण सोधेका हुन्।
माओवादीको केन्द्रीय सल्लाहकार सदस्य रहेको बेला प्रदेश सभामा निर्वाचित भए पनि पछिल्लो समय एमालेमा प्रवेश गरेको भन्दै दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने ? भनेर माओवादीले बोहोरालाई स्पष्टीकरण सोधेको हो।
‘सर्वोच्च अदालतको फैसलाबमोजिम पार्टी एकीकरण नभई पूर्ववत् अवस्थामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) साविककै पार्टी रहने भएपछि पनि तपाईंको राजनीतिक क्रियाशीलता नेकपा (एमाले) पार्टीमा देखिएको र एमालेको केन्द्रीय सदस्यसमेत नियुक्ति भएको देखिन आएकोले,’ माओवादी केन्द्रले बोहोरालाई सोधेको स्पष्टीकरणमा लेखिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ बमोजिम कार्य गर्नुभएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्यसमेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नुभएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्कासन नगर्ने ?’
स्पष्टीकरण सोधिएको २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न बोहोरालाई निर्देशन दिइएको छ। माओवादीले सर्वोच्चको फैसलापछि पूर्ववत् पार्टी ब्युँतिएपछि एमालेतिर लागेका सांसदहरूलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका मन्त्री रहेका प्रतिनिधिसभाका चार सांसदलाई हटाउने प्रक्रिया अगाडि बढाएको छ। लुम्बिनी र कर्णाली प्रदेशमा पनि एमालेमा लागेका प्रदेश सभा सदस्यहरूलाई पनि माओवादीले पार्टीबाट हटाएको छ।



लोकपाटी न्यूज

