काठमाडौं। नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना ४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको छ। प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाउन लेखेको पत्र संसद् सचिवालयमा बुझाएको हो।
सर्वोच्च अदालतले २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै रहने निर्णय लिएका उनीहरु पार्टीले कारबाही गरेसँगै सांसद रहने छैनन्। मओवादी केन्द्रले उनीहरुलाई पार्टीको साधारण सदस्य पनि नहरने गरी निश्कासन गरेको छ। पार्टी परित्याग गरी एमाले प्रवेश गरेका ती मन्त्रीहरूको सांसद पद खोस्ने निर्णय पार्टीले गरेको राष्ट्रियसभामा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले बताए।
‘पार्टीले उहाँहरूलाई फर्किन गरेको आह्वानलाई बेवास्ता गर्दै एमालेमा रहने निर्णय लिएका मन्त्रीहरूको सांसद पद खोस्ने निर्णय भएको छ,’ उनले भने। संसद् सचिवालयले पत्रअनुसार कारबाही प्रक्रियाको सूचना जारी गरेपछि उनीहरू सांसद पदबाट औपचारिक रूपमा हट्नेछन्।
संसद् चलेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ। राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने माओवादीले निर्णय गरेको छ। त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन्।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई फागुन २८ मा केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। सांसद नरहेका खानेपानीमन्त्री मणिचन्द्र थापा र खेलकुदमन्त्री दावा लामालाई पनि माओवादी केन्द्रले कारबाही गरेको छ।



लोकपाटी न्यूज

