एमाले बागमती प्रदेशमा नेपाल समूहको छुट्टै कमिटी, को-को बने अध्यक्ष ?

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षले बागमती प्रदेशमा पनि अलग्गै कमिटी बनाउने भएको छ। त्यसका लागि आज दिउँसो १२ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बागमती प्रदेशस्तरीय स्थायी समिति बैठक बस्दै छ। बैठकले पार्टीको बागमती प्रदेशस्तरीय कमिटी घोषणा गर्न लागेको उक्त समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयकाविरुद्ध समानान्तर कमिटी बनाएर अघि बढ्ने रणनीति यो समूहको छ। यसअघि काठमाडौं जिल्ला कमिटी घोषणा गरिसकेको छ। जिल्लागत रूपमा देशका विभिन्न भागमा समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ। उनीहरूले ३ महिने अभियान नै सञ्चालन गरेर अघि बढ्ने भन्दै कार्य योजनासमेत बनाएका छन्। सोही अन्तर्गत यो समूह आज बागमती प्रदेशस्तरीय समानान्तर कमिटी घोषणा गर्न लागेको हो।

बागमती प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा हरिकृष्ण थापा र श्याम सिलवालमध्ये एक जनालाई अध्यक्ष बनाउने तयारी रहेको स्रोतले जनाएको छ। त्यस्तै, सिन्धुपाल्चोकमा झम्क नेपाल, नुवाकोटमा नारायण खतिवडा, मकवानपुरमा मनु सिग्देल, सिन्धुलीमा खड्ग खत्री र सूर्य पाख्रिनमध्ये एक जनालाई खनाल-नेपाल समूहले अध्यक्ष बनाउने तयारी गरेको स्रोतको दाबी छ।

दोलखामा भीम दाहाल र प्रोणप्रसाद केसीमध्ये एक जना, भक्तपुरमा ध्रुव विष्टलाई अध्यक्ष बनाउने तयारी खनाल-नेपाल समूहको छ। खनाल-नेपाल समूहले काठमाडौंमा वसन्त मानन्धरलाई अध्यक्ष र कुसुमकुमार कार्कीलाई सचिव बनाइसकेको छ।