काठमाडौं। नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित ५ जना मन्त्रीलाई कारबाहीको तयारी गरेको छ। माओवादी केन्द्र उच्च स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, ऊर्जा जलश्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारबाही गर्ने अन्तिम तयारी गरेको हो।
पाँचै जना मन्त्रीहरूलाई यसअघि पार्टी स्पष्टीकरण सोधेको थियो। तर, उनीहरूले त्यसको जवाफ पठाएका थिएनन्। ‘पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारबाहीको पत्र तयार भइसकेको छ। त्यो पत्र उनीहरूलाई बुझाउन मात्रै बाँकी छ। सम्भवतः आजै उनीहरूलाई पठाइन्छ’, स्रोतले भन्यो।
थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री खान गएका थिए। माओवादीको नाममा निर्वाचित उनीहरू एमाले र माओवादी केन्द्र (फागुन २३ पछि ) पूर्ववत् अवस्थामा फर्किएपछि उनीहरू भने सरकारमै रहनुका साथै एमाले प्रवेश गरेका थिए। ५ मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने बाँकी प्रतिनिधि सभा सदस्य हुन्।



लोकपाटी न्यूज

