बुटवल। लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउने विषयमा जनता समाजवादी पार्टी (जसपा)का सांसदहरु विभाजित भएपछि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता तत्काललाई टरेको छ। माओवादी केन्द्रले आफ्नो नेतृत्वमा नेपाली कांग्रेस र जसपाको साथमा सरकार बनाउन अगाडि सरेको थियो।
सोमबार बिहान मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति जुटिसकेको थियो। यसका लागि हस्ताक्षरसमेत संकलनको कार्य अगाडि बढाइएको बुझिएको छ। तर जसपाका केही सांसदले हस्ताक्षर गर्न सहमत नभएपछि लुम्बिनी प्रदेश सरकारमाथिको संकट टरेको हो। प्रदेश सभामा जसपाका ६ जना सांसद छन्। ६ जनामध्ये तीनजना अविश्वास प्रस्तावको पक्षमा र तीनजना विपक्षमा रहेको बताइएको छ।
कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खान जसपा एकजुट भएको भए प्रदेश सरकार ढल्ने निश्चित रहेबो बताउँछन्। सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सूचना पाएपछि नेकपा एमालेले पनि आफ्नो सरकारको स्थायित्वको लागि छलफल अघि बढाएको छ। माओवादीले समर्थन फिर्ता लिएपछि एमालेलाई सरकार टिकाउन अर्को दलको समर्थ आवश्यक छ।
साथै आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर संकलन गरेको सूचना पाएपछि पोखरेलले माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने २ मन्त्रीलाई हटाउने तयारी गरेको बताइएको छ। मुख्यमन्त्री पोखरेलसँग सत्ता साझेदारीका लागि भेटवार्ता जसपाका सांसदहरुसँग छलफल भेटवार्ता गरेका छन्। सोमबार साँझ जसपाका सचेतक सन्तोषकुमार पाण्डेयलाई भेटेर पोखरेलले सत्ता साझेदारीका लागि प्रस्ताव गरेका थिए।
नेकपा एमालेका सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्रीले दुई मन्त्री हटाउने तयारी गरेको पुष्टि गरे। ‘आजै वा भोली सम्ममा केही निर्णय आउन सक्छ,’ उनले भने। माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले मन्त्रीहरूले राजीनामा दिने विषयमा दलमा सल्लाह नभएको भए पनि घटनाक्रमअनुसार आजै पार्टीका मन्त्रीहरूले राजिनामा दिने बताए। सामाजिक विकासमन्त्री सुर्दशन बरालले आफूहरू राजीनामाका लागि मानसिक रूपमा तयार भएको प्रतिक्रिया दिए। हिजोको मन्त्रिपरिषदमा राजीनामा बारे छलफल भएको उनले बताए।
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने देखिएपछि सरकारले हतारमा संसद अधिवेशन अन्त्य गर्ने निर्णय सोमबार नै गरेको छ। मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको निर्णय अनुसार मंगलबार (आज) राति १२ बजेदेखि बैठक अन्त्य हुने छ। आज दिउँसो भने सदन चल्ने छ।
८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन्। मुख्यमन्त्री पोखरेललाई सरकार जोगाउन ४४ मत चाहिन्छ। एमालेकै दुई प्रदेश सभा सदस्य माधव नेपाल समूहमा छन्। माओवादीका दुई जना सांसद माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन्। दल परिवर्तन गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीले कारवाही गर्दै प्रदेश सभामा जानकारी दर्ता गरिसकेको छ। मंगलबार हुने प्रदेश सभा बैठकको कार्यसूचिमा त्यसलाई समावेश गरिएको बताइएको छ।



लोकपाटी न्यूज

