समानान्तर गतिविधि गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक भट्टराईकाे चेतावनी

Bishal_Bhattarai pic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीमा समानान्तर गतिविधि गर्ने र समानान्तर कमिटीमा रहनेहरुलाई कारबाही हुने बताएका छन्। सोमवारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्यत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताएका हुन्।

उनले भने, ‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरूलाई कारबाहीको प्रक्रिया अघि बढेको छ, अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्यत हुने र त्यो कमिटीमा बस्नेसमेतलाई कारबाही गर्ने दिशामा पार्टी अगाडि बढ्छ।’

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाटै निलम्बन गरिसकेका छन्। यी चार नेतालाई जस्तै समानान्तर गतिविधि गर्नेहरु कारबाहीमा पर्ने चेतावनी नेता भट्टराईले दिएका हुन्।

लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैरकानुनी र गैरसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि उनले बताए। प्रमुख सचेतक भट्टराईले भने, ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट, विधानबाट चल्नुपर्ने पार्टी यदि गैरकानुनी तरिकाले, गैरसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वाभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ । त्यस कारणले समानान्तर कमिटी गठन गर्ने कुरा त कुनै पनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’