काठमाडौं। जनता समाजादी पार्टीका अध्यक्ष राजेन्द्र महतोले वैकल्पिक सरकारका विषयमा सामूहिक छलफल नगरी निर्णय गरेकाले कांग्रेसलाई तत्कालै सहयोग गर्न नसकिने बताएका छन्। आफ्नो पार्टीसँग कुनै पनि सल्लाह नगरी एकलौटी रुपमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेर गल्ती गरेको उनको भनाई छ।
संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहलाई प्रतिक्रिया दिँदै महतोले भने, ‘जब आफ्नो एकल नेतृत्वमा सरकार बन्ने परिस्थिति छैन भने अरुसँग छलफल गर्नुपर्यो नि। कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने आन्तरिक निर्णय गरेर गल्ती गर्यो। निर्णयपूर्व सामूहिक छलफल हुनुपर्थ्यो।’ वैकल्पिक सरकार गठनका लागि जसपाले पार्टीभित्र छलफल गरेर निर्णय दिने उनले बताए।
सरकार, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गरी तीनवटै पार्टीसँग निरन्तर रुपमा कुरा भइरहेको र आफ्नो माग र मुद्दा सम्बोधनको विषयमा कुरा उठाइरहेको उनको भनाइ छ। आफ्ना माग सम्बोधन गर्ने विषयमा सरकारी पक्षसँग वार्ता भइरहेको र जसले पार्टीको मागलाई प्राथमिकता दिन्छ, त्यसलाई समर्थन गर्ने उनको भनाइ थियो। ‘हाम्रो माग र मुद्दालाई जसले प्राथमिकता दिन्छ, त्यसलाई हामी समर्थन गर्छौं,’ उनले भने।



लोकपाटी न्यूज

