कांग्रेस जिम्मेवार प्रतिपक्ष भएन : डा. बाबुराम भट्टराई

Baburam-Bhattarai-1
लाेकपाटी न्यूज

काठमाडौं, ७ माघ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक भट्टराईले संसदमार्फत् जनताको माग सम्बोधन गर्न जिम्मेवार बन्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई जिम्मेवार बन्न पनि आग्रह गरे।

सोमबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना पार्टीका पूर्व सभापतिद्धय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल केन्द्र सरकारको मातहतमा राख्न माग गर्दै संसद बैठक अवरुद्ध पारेको थियो।

त्यसप्रति आपत्ति जनाउँदै संयोजक भट्टराईले सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेस संसदमार्फत् जनताको समस्या समाधान गर्न गम्भिर नभएको भन्दै चिन्ता पनि व्यक्त गरे।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भट्टराईले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन हुने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’मा सहमति जुटाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

संयोजक भट्टराईले संसद बैठक सूचारु गराउने दायित्व पूरा गर्न सरकारलाई र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई सुझाव पनि दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्