काठमाडौं। नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका चार प्रदेश सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ।
माओवादी केन्द्रले प्रदेश १ का टंक आङबुहाङ, लुम्बिनी प्रदेशका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेश सभा सदस्यबाट हटाउने प्रक्रिया सुरु गरेको हो।
माओवादी प्रदेश १ संसदीय दलका नेता आङबुहाङ एमाले प्रवेश गरेसँगै आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन्।
माओवादीका प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेमा गएर आर्थिक मामिला तथा योजनामन्त्री भएका टंक आङ्बोहाङलाई कारबाही गरेको पत्र सोमबार प्रदेशसभा सचिवालयमा दर्ता गराउने बताइएको छ। कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको र सोमबार बैठक सुरु हुनुअगावै पत्र दर्ता गरिने उनले जानकारी दिए ।
माओवादीले पार्टी परिवर्तन गरेका लुम्बिनीका दुई प्रदेशसभा सदस्यलाई पदमुक्त गराउन प्रदेशसभा सचिवालयमा सिफारिस गरेको छ । एमाले प्रवेश गरेका रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थीलाई हटाउन माओवादी केन्द्रको संसदीय दलले सिफारिस गरेको हो । अहिले दुवै जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाएका छन् ।
दुवै नेतालाई माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले एक साताअघि २४ घण्टे स्पष्टीकरण सोधेका थिए। उनीहरूले जवाफ नै नदिएपछि संसदीय दलबाट कारबाही गरिएको र त्यसको जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं माओवादी केन्द्रका स्थायी कमिटी सदस्य सुदर्शन बरालले बताए ।
दुवैलाई संसदीय दल र पार्टीले कारबाही गरेको पत्र आइतबार माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् । सोमबार बस्ने प्रदेशसभा बैठकबाट उनीहरूलाई पदमुक्त गर्ने निर्णय हुने छ।



लोकपाटी न्यूज

