काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले समानान्तर समिति गठनलाई तीव्रता दिएको छ। शनिबार बसेको खनाल-नेपाल पक्ष निकट स्थायी समिति सदस्यहरुको बैठकले एमाले पुनर्गठन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। यही चैत १५ देखि आउँदो असार १५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
बैठकले अभियानको कार्ययोजनाको ढाँचासमेत तयार पारेको छ। तीन महिने अभियानमार्फत् छिन्नभिन्न भएको पार्टी संगठन र जनसंगठनहरुलाई व्यवस्थित बनाउने, जवजको मूल्य मान्यताको रक्षा गर्दै पार्टीको एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा विकास गर्न पहल गर्ने योजना उनीहरुको छ।
अभियान अन्तर्गत खनाल-नेपाल पक्षले आज काठमाडौंमा कमिटी घोषणा गर्दैछ। एमाले काठमाडौंको अध्यक्ष वसन्त मानन्धरलाई बनाउने तयारी गरिएको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए। मानन्धर प्रदेश सांसद पनि हुन्। खनाल-नेपाल पक्षले आज बुद्धनगर पार्टी प्यालेसमा जिल्ला कमिटीको भेला आयोजना गरेको छ। भेलालाई वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाले सम्बोधन गर्ने बताइएको छ।



लोकपाटी न्यूज

