विकल्प तयार हुने बित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : वर्षमान पुन

Barsaman_pun
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकार गठनका लागि विकल्प तयार भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिइने बताएका छन्। तर बिना विकल्प सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकिने पुनको भनाई छ।

‘हामीले संसद् मात्रै होइन, संविधान पनि बचाउनुपर्छ,’ उनले भने। विकल्प बिना समर्थन फिर्ता लिए र प्रधानमन्त्रीले आफू अल्पमतमा परे उपधारा ३ प्रयोग गर्ने संकेत देखिएको उनको भनाइ छ।

‘राजीनामापछि ठूलो दलको हिसाबले विश्वासको मत गर्न नसके फेरि चुनावमै जाने निर्णय हुन सक्ने भएकाले बिना विकल्प बाटोमै नछोडौं भनेर समर्थन फिर्तामा ढिलाइ भएको हो,’ पुनले भने। शुक्रबार कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनका लागि अग्रसरता लिने निर्णय गरेको थियो।

कांग्रेसको उक्त निर्णयपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको र आज बस्ने माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा थियो। तर बिहान ११ बजे बोलाइएको बैठक स्थगित भइसकेको छ। पुनले आजको स्थायी समिति बैठक विभिन्न नेताहरू काठमाडौं बाहिर रहेकाले ३-४ दिनका लागि स्थगित भएको बताए।

कांग्रेसले गरेको निर्णय सकारात्मक रहेको र जसपासँग पनि सरकार गठनका विषयमा छलफल भएको उनको भनाइ छ। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने घोषणा गरेका थिए।