एमालेमा नेपाल समूहको समानान्तर अभ्यासले फर्किएला पुरानै अस्तित्व ?

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेमा विवाद बढ्दै जाँदा माधव नेपाल पक्षले पार्टीमा समानान्तर कमिटी गठन गर्दै अघि बढेको छ। पार्टीमा विवाद बढ्दै जाँदा नेपाल पक्ष देशैभर र प्रवासमा समेत समानान्तर कमिटी गठन गरी अघि बढ्ने भएको हो।

समानान्तर कमिटी गठन गर्ने माधव नेपाल पक्षको यो कदमलाई धेरैले पार्टी विभाजन या अलग पार्टी बनाउने योजनाको पूर्वाभ्यासका रूपमा बुझेका छन्। तर, माधव नेपाल पक्षकै नेताहरू भने यसलाई पार्टीमा ओलीविरुद्ध आन्तरिक दबाब सिर्जना गर्ने रणनीति रहेको बताउँछन्।

एमालेको संस्थापन (ओली समूह)ले नेपाल पक्षका चार नेता (माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे)लाई कारबाही गर्दै ६ महिना पार्टीबाट निलम्बन गरेको छ। यससँगै नेपाल पक्ष पनि ओलीलाई दबाब दिने आन्तरिक रणनीतिमा जुट्दै समानान्तर कमिटी गठन गर्ने कार्यलाई अघि बढाएको हो।

नेपाल पक्षले सबै जिल्लामा समानान्तर कमिटी बनाउने, सबै भातृ संगठन तथा प्रवासमा समेत समानान्तर कमिटी बनाउने भएको छ। एमाले माधव पक्षका नेता रघुजी पन्त समानान्तर कमिटी गठन गरिनु पार्टी विभाजन या नयाँ पार्टी बनाउने योजनाअनुरूप नभएको बताउँछन्। ओलीलाई आन्तरिक दबाब दिनका लागि त्यसो गरिएको उनको भनाइ छ।

तर, ओलीले आफूहरूलाई धकेलेर बाध्यात्मक अवस्थामा पुर्‍याउन खोजेको पनि पन्तले बताए। उनले ओलीको स्वेच्छाचारिता र उनको षडयन्त्रलाई चिर्ने रणनीतिकै एउटा अंगका रूपमा समानान्तर कमिटी गठन गरिएको उल्लेख गरे। ‘पार्टी विभाजन गर्ने अहिले हाम्रो कुनै योजना छैन,’ पन्तले भने, ‘तर, उनले (ओलीले) हामीलाई धकेलेर त्यहीँ (पार्टी विभाजन) सम्म पुर्‍याउन लागेका छन्। तर, अहिले पनि हामी एमाले नै हौँ।’

माधव नेपाल पक्षले एमाले विभाजन गरी माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको चर्चा पनि सुनिएको छ। तर, पन्तले अहिले आफूहरूले पार्टी विभाजन गर्ने तयारीमा नरहेको उल्लेख गर्दै माओवादीसँग पार्टी एकता गर्ने कुरा नभएको बताए। यद्यपि भोलि गएर मुद्दा विशेषका आधारमा माओवादीलगायत अरू वामपन्थी तथा लोकतान्त्रिक शक्तिसँग सहकार्य या मोर्चाबन्दी हुने कुरालाई उनले नकारेनन्।

अहिले भने आफूहरूले एमालेलाई नै बलियो बनाउने उद्देश्यअनुरूप कार्य गरिरहेको उनको भनाइ छ। पन्तले एमालेमा नेपाल पक्ष कमजोर अवस्थामा नरहेको दाबी गरे। उनले जनवर्गीय संगठनहरुमा ओलीभन्दा आफूहरू बलियो अवस्थामा रहेको र जिल्लाहरूमा पनि समानान्तर कमिटी गठन गरिने बताए।

हिजो ओली पक्षले मदन भण्डारी फाउन्डेसनमार्फत पार्टीमा समानान्तर अभ्यास गरेको उल्लेख गर्दै माधव पक्षका एक नेताले आफूहरूले पनि पार्टीलाई बलियो बनाउन र ओलीको स्वेच्छाचारिता चिर्न समानान्तर कमिटी गठन गरेको बताए।