जसपाले ओलीतन्त्रको घाँस खाँदैन : डा. भट्टराई

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारमा नजाने प्रस्ट पारेका छन्। डा. भट्टराईले रेसम चौधरीलगायतका राजबन्दीको रिहाइलाई ओलीको सरकारमा जाने कुरासँग नजोड्न आग्रह पनि गरे।

उनले राजपाले ओली तन्त्रको घाँस नखाने भन्दै यसबारे सबैलाई सचेत बनाएका छन्। उनीले बीपीको रिहाइको माग गर्ने काँग्रेस राणा सरकारमा नभएको पञ्चायतमा पनि आफ्ना कार्यकर्ता रिहाइको माग गर्ने काँग्रेस र कम्युनिस्टहरू सरकारमा नगएको उदाहरण दिँदै जसपा पनि सरकारमा नजाने बताएका हुन्।

‘रेसम चौधरीलगायतका राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस्! के बन्दी बिपीको रिहाइ माग गर्ने काँग्रेस राणातन्त्रमा सहभागी भएको थियो! के आफ्ना नेता–कार्यकर्ताको रिहाइ माग गर्ने काँग्रेस/कम्युनिस्ट पञ्चायत छिरेका थिए? जसपाले ओली तन्त्रको घाँस खान्न! चेतना भया!’, सामाजिक सञ्जालमा लेखेका छन्।

सरकारमा जाने र नजाने विषयमा जसपामा मतभेद भइरहेका बेला डा. भट्टराईको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो लगायत सरकारमा जान तयार छन् भने अध्यक्ष उपेन्द्र यादव र डा. भट्टराई ओली सरकारमा सहभागी हुन नहुने पक्षमा छन्।