सत्ताका लागि रेशम चौधरीलाई माफी दिनु गलत हुन्छ : दुर्गा पौडेल

Durga_Poudel
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले रेशमलाल चौधरीलाई माफी दिएर रिहा गर्ने भनिएकोबारे स्पष्ट पार्न सरकारको जवाफ मागेकी छन्। टीकापुर घटना अमानवीय भएकोले राजनीतिक घटना भनेर चौधरीलाई रिहा गर्न नहुने पनि पौडेलले बताइन्।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोलेकी उनले सरकारलाई समर्थन दिलाउनका लागि टिकापुर हत्या काण्डको अभियोगमा सजाय पाइरहेका अभियुक्तलाई माफी दिनु गलत हुने बताइन्। ‘एउटा दुई वर्षको नाबालकसहित गरिएका हत्या माफी लायक होइन’ उनले भनिन्, ‘अहिले पूर्व नेकपाको फुटपछि कुनै पनि दलको बहुमत छैन, त्यो बहुमत दिलाउन रेशम चौधरीलाई माफी दिनु गलत हुनेछ।’

थारु समुदायको मुक्तिका लागि गरिएको आन्दोलनलाई हामी समर्थन गर्छौं तर नाबालकसहित गरिएको हत्यालाई हामीले कदापी साथ दिँदैनौं र दिनु पनि हुँदैन। उनले अगाडि भनिन्, ‘अहिलेपनि विभिन्न पक्षहरुबाट राजनीतिक मुद्दा भनेर यसलाई अगाडि बढाएको विचारलाई सहि मान्न सकिँदैन। रेशम चौधरीलाई माफी दिए कानून र न्यायको अवहेलना हुनेछ। अराजक र जघन्य अपराधका दोषीहरुलाई छाडिनु हुँदैन।’

रेशम चौधरीको मागलाई पूरा गर्न तर्फ लाग्नु मुर्खता हुने उनले बताइन्। ‘यसलाई राजनीतिक मुद्दाको रुपमा अघि बढाउन पर्छ भनेर आएको विचारलाई सही भन्न सकिदैन’ सांसद पौडेलले भनिन् ‘सरकार बनाउन कुनै पनि दलको बहुमत छैन। यो सत्ताका लागि चौधरीको रिहा गर्ने कुरा आएको छ। यसो भएमा कानुन र न्यायको अवहेलना हुनेछ। देशमा नराम्रो नजीर स्थापना गर्नेछ।’