काठमाडौं। नेकपा एमालेका स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टी औपचारिक रुपमा विभाजन हुने नहुने कुरा अध्यक्ष केपी ओलीकै हातमा रहेको बताएका छन्। नेपाल पक्षीय स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग ज्ञवालीले पार्टी अहिलेसम्म औपचारिक रुपमा नफुटेको र संसदीय दल एकै ठाउँमा रहेको भएपनि अन्तिम बिन्दुसम्म के हुन्छ भन्ने कुरा ओलीको क्रियाकलापमा भर पर्ने बताए।
‘सबै कुरा ओलीमै भर पर्छ, तर अहिलेसम्म उहाँका गतिविधि हेर्दा एमालेलाई टुक्रा टुक्रा बनाउन चाहनुहुन्छ र सानो गुटको नेतृत्व गरेर अघि बढ्न चाहनुहुन्छ भन्ने देखिन्छ,’ उनले भने। ओलीले माधव नेपालहरुलाई गरेको कारबाही विधानले नचिन्ने पनि उनले उल्लेख गरे।
‘विधानलाई नै तोडफोड गरेर अगाडि बढेका ओलीले गरेका निर्णय मान्दैनौं, उहाँको कारबाही एमालेको विधानले चिन्दैन र त्यो कारबाही अस्वीकार्य छ,’ उनले भने। यद्यपि आफूहरु एमालेलाई पुनर्गठित र सृदृढ गर्ने अभियानमा रहेको र तल्ला तहसम्मै समानान्तर संगठन निर्माणमा संलग्न रहेको उनले बताए। ज्ञवालीले आफूहरु तत्काल अर्को पार्टी दर्ता गरेर जाने अवस्थामा नरहेको पनि बताए।



लोकपाटी न्यूज

