काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरण बदर गरेको निर्णयविरुद्ध पुनरवलोकन निवेदन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च पुगेका छन्। पुनरावेदन निवेदन लिएर प्रचण्डसहित वर्षमान पुन, जनार्द्धन शर्मा, गिरिराजमणि पोखरेललगायत नेताहरू सर्वोच्च पुगेका हुन्।
सर्वोच्च अदालतले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ गते नेकपा भंग गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो। सर्वोच्चको यो फैसला राजनीतिक भएको भन्दै पुनरावलोकनका लागि जाने घोषणा प्रचण्डले गरेका थिए। निलम्बनमा परेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि पुनरावलोकनमा जानु पर्ने निष्कर्ष सुनाएको थियो।
सर्वोच्च अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरवलोकनमा जाने निर्णय गरे पनि माओवादी केन्द्र आन्तरिक परामर्शमा थियो। अदालतको फैसला चित्त नबुझे ६० दिनभित्र पुनरवलोकनमा जान सकिने कानुनी प्रावधान छ। नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामाकरण गरिएको थियो। तर, निर्वाचन आयोगले आफ्नो दलको नामसँग जुध्नेगरी पार्टी दर्ता गरेको भन्दै कट्टेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए।



लोकपाटी न्यूज

