नेपाल र रावलमाथिको कारबाहीबारे कुन नेताले के भने ?

Nepal_Rawal
लोकपाटी न्यूज

काठमाडौं। नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई संस्थापन पक्षको कारबाहीको नेकपा एमालेको आन्तरिक राजनीति थप भुमरीमा फसेको छ। माले मोरङ, कोअर्डिनेसन केन्द्र हुँदै २०३५ सालमा माले पार्टी बने यता मुख्य जिम्मेवारीमा रहँदै आएका नेता नेपाल र उपाध्यक्ष रावललाई एमाले अध्यक्ष केपी ओलीले ६ महिने निलम्बनको घोषणा गरेका हुन्।

ओलीले पार्टी विरोधी गतिविधि गरे थप कारबाहीको चेतावनी समेत दिएका छन्। संस्थापन पक्षको कारबाहीको घोषणा लगत्तै पार्टीमा समानान्तर गतिविधि गर्दै आएको नेपाल समूहले कडा आपत्ति जनाएको छ। ओली समूहको कारबाहीलाई स्वाभाविक रहेको प्रतिक्रिया दिएको छ। यद्यपि प्रतिनिधिसभाको सबैभन्दा ठूलो पार्टीभित्र देखिएको विवाद विभाजन उन्मुख भएको पार्टीकै नेता कार्यकर्ताले टिप्पणी गरेका छन्।

एमालेको नेपाल समूहका नेता योगेश भट्टराईले ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही गर्नु कमजोर सत्ताको अन्तिम अस्त्रका रूपमा टिप्पणी गरेका छन्। भट्टराईले सामाजिक सञ्जालमा कारवाहीप्रति कटाक्ष गर्दै परिणाम उल्टो हुने निश्चित भएकोले कारबाहीबाट फर्कनु नै कल्याण हुने बताए। ‘कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो। परिणाम उल्टो हुने निश्चित छ। फर्कनु नै कल्याण हुने छ,’ उनले लेखेका छन्।

यसै गरी नेता ठाकुर गैरेले पनि कारबाही गर्ने संस्थापन पक्षको निर्णयको विरोध गरेका छन्। उनले एकता संघर्ष र रूपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको टिप्पणी गरेका छन्। ‘एकता संघर्ष र रूपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका, ‘नेकपा एमालेको एकता कायम राख्न २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी सञ्चालन हुनु पर्छ।’

गैरेले कारबाहीको बाटो नभई समस्याको समाधान संवादमार्फत खोज्न पनि आग्रह गरेका छन्। यसै गरी नेत्री रामकुमारी झाँक्रीले कमजोरहरूको अन्तिम अस्त्र जोडले चिच्याउने वा गाली गर्ने भएको टिप्पणी गरेकी छन्। उनले लेखेकी छन्, ‘कमजोरहरूको अन्तिम अस्त्र हो, जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने।’ उनले पृथ्वी गोलो भएको कुरा हेक्का राख्न पनि ओलीलाई चेतावनी दिएकी छन्।

यस्तै एमालेकी युवा नेत्री उषाकिरण तिम्सिनाले प्रत्येक तानाशाहको अन्त्य दुःखद हुने टिप्पणी गर्दै भनेकी छिन्, ‘समय बलवान त हुन्छ नै।’

नेपाल समूहले कारबाहीको चर्को विरोध गर्दै गर्दा ओली समूहका बलिया सारथि तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने पार्टी अनुशासनले सबैको हित गर्ने टिप्पणी गरेका छन्। ‘विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्दैन। पार्टी अनुशासनले सबैको हित गर्छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

ओलीको कारबाहीको पासापछि एमाले स्पष्ट दुई धारमा विभाजित बनेको छ, भने वरिष्ठ नेता माधव कुमार नेपालले ओलीको निर्णयको कडा प्रतिवाद गर्ने प्रतिक्रिया दिइसकेका छन्। नेपालले ओलीका विरुद्धमा अब देशव्यापी अभियान चलाइने बताएका छन्। उनले देशभरिका कार्यकर्ताहरूलाई मैदानमा उत्रन आह्वानसमेत गरेका छन्।

नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारबाही गर्ने कुनै अधिकार नरहेको बताए। ओलीले आफैँ केन्द्रीय कमिटी भङ्ग गरेको अवस्थामा यसरी कारबाही गर्न नमिल्ने उनले बताए। नेता नेपालले भने, ‘केपी ओली अहिले नेकपा एमालेको अध्यक्ष पनि होइन। उहाँ एमाले केन्द्रीय कमिटीको अध्यक्ष होइन। उहाँले एमालेको केन्द्रीय कमिटी भङ्ग गरिसक्नुभयो । त्यसो हुनाले केन्द्रीय कमिटीको अध्यक्षका रूपमा काम गर्ने उहाँसँग केही पनि अधिकार छैन।’

नेता नेपालले अगाडि भने, ‘अब देशव्यापीरुपमा संगठन झनै सशक्त र प्रभावकारी भएर जान्छ। केपी ओलीको चुनौतीको सामना गरिन्छ। सबै कार्यकर्तालाई दृढताका साथ मैदानमा उत्रन म आह्वान गर्न चाहन्छु।’ यस्तै नेता भीम रावलले आफूमाथिको कारबाहीलाई देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारीको संज्ञा दिएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा एकपछि अर्को गरेको गलत कामको विरोध गर्दा कारबाही गरिएको रावलले सामाजिक सञ्जालमार्फत बताएका छन्। चैत ८ मा संस्थापनले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले सोमबार नेपाल र रावललाई कारबाहीको घोषणा गरेका हुन्।