पुनरावलोकनको लागि निवेदन दिन सर्वोच्च जाँदै प्रचण्ड

prachanda-2
लोकपाटी न्यूज

काठमाडौं। तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पुनरावलोकनको निवेदन दिने भएका छन्।

प्रचण्डको सचिवालयले पुनरावलोकनको निवेदन दिन प्रचण्ड मंगलबार बिहान ११ बजे सर्वोच्च अदालत जान लागेको जानकारी दिएको छ।

यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो।

एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो। त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो।

तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो।