गोरखा, ६ माघ । धार्चे गाउँपालिकाको लाप्राक स्थित गुप्सिपाखामा एकीकृत नमुना बस्ती धमाधम निमार्ण भइरहेको छ ।
करिब एक सय ५० नेपाली सेनाको र स्थानीयको सहयोगमा उक्त बस्ती निमार्ण भइरहेको हो । नेपाली सेना सँगै स्थानीय पनि आफ्नो घरको रङरोगन, ट्रस्ट राख्ने, साना तिना काम सिध्याउने तरखरमा तल्लिन छन्।
गैरआवासीय नेपाली संघ ‘एनआरएन’ले निर्माण गरिरहेको बस्ती निर्माणको काम अन्य सिजनमा भन्दा अहिले गतिशिल देखिन्छ । हिउँ नपरेको र समान्य तुसारोका कारण काम गर्न सहज भइरहेको स्थानीयको भनाई छ । धेरै जना स्थानीयलाई एनआरएनले कुन घर कसको भागमा परेको छ भन्ने जिम्मा लगाईसकेको छ । त्यसैले पनि अहिले घरको निर्माण छिटो सिध्याउन स्थानीयले पनि चासो दिएका छन्।
भूकम्पको केन्द्रबिन्दु बारपाक सँगै जोडिएको लाप्राक सिङ्गो गाउँ भूकम्पले ध्वस्त भएपछि लाप्राकी गुप्सिपाखामा सरेका थिए । एनआरएनले सबै लाप्राकीलाई नयाँ घर सहितको एकीकृत बस्ती निर्माण गर्ने सहमतीपछि लाप्राकी पुन गाउँ झरेका हुन् । भूकम्पको चौँथौँ वर्ष सुरु भईसक्दा पनि अहिले सम्म भूकम्प प्रतिरोधी नयाँ घरमा बस्न भने लाप्राकीलाई जुरेको छैन ।एनआरएनले आउँदो बैशाख महिना सम्म सबै घर निर्माण गरिसक्ने लक्ष्य राखेको बताएको छ । निर्माण गर्नुपर्ने पाँच सय ७३ घर मध्ये पाँच सय वटाको पहिलो तल्लाको काम सकिएको छ भने एक सय २५ घरको दोस्रो तल्ला र तीन सय ७० घरको ट्रस्ट राख्ने काम भईसकेको एकीकृत बस्तीका इन्जिनियर लक्ष्मण आर्यालले जानकारी दिए ।
उनले अहिले सय भन्दाबढि स्थानीय र एक सय ५० भन्दाबढि नेपाली सेनाले काम गरिरहेको बताउँदै हरेक हप्ता तीन देखि पाँच प्रतिशतले कामको गती बढाउने बताए ।



लाेकपाटी न्यूज
