काठमाडौं। नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग दोस्रो पटक स्पष्टीकरण मागेको छ। गत चैत ७ गते बसेको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
पार्टी हितविरुद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइल्याउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेकोले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय ओलीपक्षीय केन्द्रीय कमिटीले गरेको थियो। यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको बताइएको छ।
नेताहरु नेपाल र रावलले अध्यक्ष केपी ओलीलाई १३ बुँदे स्पष्टीकरण माग गर्दै त्यसको जवाफ माग गरेका थिए भने भुसाल र पाण्डेले स्पष्टीकरण दिएका थिएनन्। उनीहरुलाई एमालेले पुनः स्पष्टीकरण माग गरेको हो। यसअघि स्पष्टिकरण दिएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।
पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो। पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई जानकारी गराएका छन्।



लोकपाटी न्यूज

