काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई पार्टीको सदस्यताबाट निलम्बन गर्ने अधिकार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नभएको दाबी गरेका छन्। नेपाल र एमाले उपाध्यक्ष रावललाई सदस्यताबाट निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘मैले अहिलेसम्म त्यस्तो पत्र पाएको छैन, त्यसबारे जानकारी छैन,’ नेता नेपालले भने, ‘त्यसो हो भने पनि त्यसको कुनै अर्थ छैन, केपी शर्मा ओलीलाई यो अधिकार छैन।’उनले ओली अहिले एमालेको निर्वाचित अध्यक्ष नै नरहेको दाबी गरे।
‘नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई पार्टीले हटाइसकेको छ, उहाँ अहिले एमालेको एउटा गुटको अध्यक्ष मात्र हो,’ नेपालले भने, ‘एउटा गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न सक्दैन, त्यसकारण यो कारवाही वा निलम्बनको कुनै अर्थ छैन।’ नेकपा एमालेले नेता नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।
पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो। पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई जानकारी गराएका छन्। नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनेको छ।



लोकपाटी न्यूज

