काठमाडौं। नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।
पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई जानकारी गराएका छन्। नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनेको छ।
‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरू सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ दुवैलाई पठाएको पत्रमा भनिएको छ।
माधवकुमार नेपाललाई निलम्बन गर्नुको कारणबारे पत्रमा लेखिएको छ, ‘तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्ति सहित अहंकार र आत्म केन्द्रीत कुराहरू उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो।’
नेपाललाई निलम्बन गर्नुको दोस्रो कारणबारे ओलीले लेखेका छन्, ‘स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटिको स्वीकारोक्ती नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रूपमा देखियो। आफ्नो स्वार्थको लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्याउन तयार भएको, आपराधिक मनोवृत्ति प्रष्ट रूपमा थप पुष्ट भएको। आपराधिक क्रियाकलापहरू स्वीकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरू प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भिरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टिकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको।’
त्यस्तै नेता नेपालले पार्टी विरोधी, पार्टीमा फाटो ल्याउने र गुटगत क्रियाकलाप नेकपा एमालेको नाममा गरिरहेकोमा पनि अध्यक्ष ओलीले निलम्बनको कारण रहेको उल्लेख गरेका छन्। ‘त्यसलाई आगामी दिनहरूमा समेत निरन्तरता दिई रहने तर्फ अग्रसरता देखिएको, पार्टीकै लागि, एकताकै लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनासायका निम्ती दुरुपयोग गर्ने सम्भावना देखिएको’ पनि निलम्बन गर्नुको कारण रहेको उल्लेख छ।
यसैबीच सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिनेसमेत ओलीले पत्रमा उल्लेख गरेका छन्। यद्यपी उनले सच्चीने मौकालाई पार्टीको कमजोरी नठान्नसमेत ओलीले चेतावनी दिएका छन्। सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानेर पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने चेतावनीसमेत ओलीले पत्रमा दिएका छन्।
नेकपामा प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एमाले नेता नेपाल पक्ष र प्रचण्ड पक्षले त्यसविरुद्ध आन्दोलन गरेका थिए। फाल्गुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम ऋषि कट्टेलको पक्षमा फैसला गरेर एमाले-माओवादीलाई पुरानै अवस्थामा फर्काएको थियो।
सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आ-आफ्नो कित्तामा फर्किएका छन्। त्यसयता एमालेमा माधव नेपाल समूहमा नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ। पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले)ले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो।
माधवकुमार नेपालले स्पष्टीकरणमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै उल्टै आरोप लगाएका छन्। महाधिवेशन आयोजक समिति अवैधानिक किसिमले गठन गरिएको आरोप उनीहरुले लगाएका थिए। उनीहरुको जवाफपछि ओलीले नेपाल र रावल कारबाहीको भागिदार रहेको प्रतिक्रिया दिएका थिए।



लोकपाटी न्यूज

