काठमाडौं। कोभिडविरुद्धको चिनियाँ अनुदानको आठ लाख डोज खोप काठमाडौंमा आइपुगेको छ। चिनियाँ अनुदानको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप आज काठमाडौं आइपुगेको हो।
चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ। चीनले नेपाललाई दिएको खोप चीनको राजधानी बेइजिङ हुँदै काठमाडौं ल्याइएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चीनबाट आठ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आइतबार चीनको राजधानी बेइजिङ पठाइएको थियो।
दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई नेपाल ल्याइए पनि प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने बताइएको छ। विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गरिनेछ। यद्यपि नेपालले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ। नेपालले प्राप्त गर्ने उक्त खोप चार लाख जनालाई लगाउन पुग्नेछ ।



लोकपाटी न्यूज

