जनकपुरधाम। प्रत्येक वर्ष होलीको पूर्वसन्ध्यामा दिइने महामूर्खको उपाधि यो वर्ष महजोडीले पाएका छन्। मिथिला नाट्य कला परिषद् (मिनाप)द्वारा जनकपुरधाममा आयोजित महामूर्ख सम्मेलनअन्तर्गतको उक्त उपाधि कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंशले अचार्यले पाएका हुन्।
प्रदेश नम्बर-२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले महजोडीलाई उपाधि हस्तान्तरण गरे। यस्तै, मन्त्री सोनलले पटमूर्खको उपाधि पाएका छन्। मिनापले १५ वटा विद्यामा पटमूर्खको उपाधि दिएको थियो । त्यसअन्तर्गतको मूर्ख शेरोमनीको उपाधि मन्त्री जितेन्द्र सोनलले पाएका हुन्।
यस्तै, प्रदेशसभा सदस्य परमेश्वर साहले बज्रकिट, जनकपुरधाम उपमहानगरपालिका-४ का वडाध्यक्ष सुदर्शन सिंहले वैशाखान्नद, जसपाका नेता राजीव झाले वंश कुरहारी, सञ्चारउद्यमी शंकर साहले मुसरीलाल र शीतल साहले ढोरवाको उपाधि पाएका छन्।
पर्यावरण अभियन्ता सुरेश शर्माले हाराशेख, सुजित झाले सिलौटान्नद, सञ्चारकर्मी अशोक दत्तले बोतलान्नद, मोडल क्याम्पसका सञ्चालक वीरेन्द्र साहले लोढाशंकर, वीरेन्द्र कर्णले बज्रकिट र मैथली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले पटमूर्खको उपाधि पाएका छन्।



लोकपाटी न्यूज