अखिल (क्रान्तिकारी) को विस्तारित बैठक प्रज्ञा भवन कमलादीमा शुरु

लोकपाटी न्यूज

काठमाडाैँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (क्रान्तिकारी) को विस्तारित बैठक प्रज्ञा भवन कमलादीमा शुरु भएको छ। ‘सम्पूर्ण वामपन्थी,प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विधार्थी एकजुट होऔं’ भन्ने मूल नारासहित शुरु भएको केन्द्रीय समितिको विस्तार बैठकको प्रमुख आतिथ्य नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले गरेका छन्।

अध्यक्ष रञ्जित तामाङको अध्यक्षतामा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र) का नेता तथा अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्षहरू लेखनाथ न्यौपाने,हिमाल शर्मा, रमेशबल्लभलगायत झण्डै डेढ सय जनाको उपस्थिति रहेको जानकारी दिइएको छ। सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई ब्‍यूताइदिएपछि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएको हो।

गत बिहिबार केन्द्रीय कार्यालय वागबजारमा बसेको अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकले केन्द्रीय कमिटी ब्यूँताउने निर्णय गरेको थियाे।  यस्तै अनेरास्ववियू (क्रान्तिकारी ) ब्युंतिएसंगै पुरानै पदाधिकारी टोली पनि पुनर्जीवित भएको हाे। जस अनुसार अध्यक्षमा रञ्जित तामाङ , उपाध्यक्षमा सुरेन्द्र बस्नेत , दिपक देवकोटा , तिलकराज भण्डारी , विजय गौतम , पञ्चा सिंह , दिपेश पुन , इन्द्र भुषाल , रविकिरण यादव र महासचिवमा उत्तम अधिकारी रहेका छन्।

यसैगरी उपमहासचिवमा जिपि मैनाली र तुकमान महरा रहेका छन्। सचिवमा नरेश रेग्मी , पवन कार्की , मदन भट्टराई , सुर्यनारायण शाह , क्षितिज सापकोटा , नारायण खनाल , अम्मरराज शाही , राजकुमार लिम्बू , अच्युत भट्ट , गजेन्द्र देव , प्रविणा अधिकारी , मदन भुल र कोषाध्यक्षमा केशव रावल रहेका छन्।