ओलीले नेपाल पक्षका को–को नेतामाथि गर्दैछन् कार्वाही ?

Kp Oli and Madhav Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन्। फागुन २३ गते फैसलापछि ओली पार्टी र संसदमा समेत शक्तिशाली बन्दै गएका हुन्।

ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीचको सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्न ओली सफल भएका छन्। ओली नेतृत्वको सरकारले विश्वासको मत लिएमा र जसपाले समर्थन गरेमा एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन।

ओलीले फागुन २८ गते माधव नेपाललगायत नेतालाई नबोलाइ केन्द्रीय कमिटीको बैठक राखेर जिम्मेवारी खोस्ने, विधान संशोधन प्रस्ताव अघि सार्ने तथा केन्द्रीय सदस्य थप गर्ने निर्णय गराएका थिए। त्यसपछि दुईवटा बैठकले विधान संशोधन नेपाललगायत चार नेतालाई स्पष्टीकरण सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउने अधिकार अध्यक्षलाई दिने निर्णय गरेका थिए।

नेपाल समूहले समानान्तर कमिटी गठन गरी ओली समूहलाई चुनौती दिने र अन्तरसंघर्ष गर्ने नीति लिइरहेका बेला ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेर आफूअनुकूल निर्णय गराएका थिए। उनी यतिबेला नेपाल लगायतका नेताहरुलाई पार्टीबाटै निष्कासन गर्ने तयारीमा छन्।

ओलीले नेपाल समूहका सबै नेतालाई एकैपल्ट नभएर पालैपालो कार्वाही गर्ने रणनीति अघि सारेका छन्। पहिलो चरणमा माधवकुमार नेपाल र भीम रावललाई कार्वाही गर्ने र नेपाल समूहका नेताहरुलाई आफ्ना गुटमा आत्मसमर्पण गर्न बाध्य रणनीति ओलीले अघि सारेका छन्।

दोस्रो चरणमा ओलीले सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतामाथि कार्वाही गर्ने र अरु नेतालाई तर्साउने योजना बनाएको स्रोत बताउँछ। समानुपातिकको बन्दसूचि हेरफेर गर्नसक्ने अधिकार ओलीले आफूमा केन्द्रीत गरेर त्यही त्रास देखाउन खोजेका छन्।