हिन्दु राष्ट्र ब्यूँताउन राप्रपाको यस्तो एक्सन

kamal-thapa
लाेकपाटी न्यूज

काठमाडौं, ६ माघ । राप्रपाका नेताहरु हिन्दु राष्ट्र पुनःस्थापनाका लागि जिल्ला दौडाहामा छन् । माघ १३, १४ र १५ गते राप्रपाले देशका सबै नगरपालिका र गाउँपालिकामा जनजागरण सभा गर्दैछ । राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना लगायतका मागहरू राखी फागुन ७ गतेदेखि नयाँ कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ ।

केन्द्रमा प्रधानमन्त्रीलाई र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई फागुन मसान्तसम्मको अल्टिमेटम दिँदै राप्रपाले ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम तय गरेको छ । त्यस्तै फागुन १५ देखि ३० सम्म मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दैछ । यो यात्रा ताप्लेजुङदेखि शुरु भएर महाकालीको कञ्चनपुर हुँदै काठमाडौं आइपुग्नेछ ।

हिन्दु राष्ट्र पुनःस्थापनालाई मुल मुद्दा बनाउदै आएको राप्रपाले जनतालाई जागृत तुल्याउने उद्देश्यले माघ ७ र ८ गते देशव्यापी घरदैलो कार्यक्रम आयोजना गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसका लागि राप्रपाले सबै ठाउँमा केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ । पार्टीका शीर्ष नेताहरु पनि जिल्ला पुगेका छन् ।

बताइएअनुसार अध्यक्ष कमल थापा मकवानपुरका विभिन्न ठाउँमा सहभागी हुनेछन् भने बुद्धिमान तामाङ धादिङका कार्यक्रममा सहभागी हुनेछन् । त्यस्तै टंक ढकाल, उद्धव पौडेल काठमाडौं, राजेन्द्र लिङ्देन झापा र पूर्व क्षेत्रका जिल्लाहरुमा खटिएका छन् ।

यस्तै धवलशमसेर राणा बाँके, महिला र युवक संगठनका अध्यक्षहरु क्रमशः कुन्ती शाही र प्रकाश रिमाल सर्लाही, महोत्तरी, भुवन पाठक, राजेश गिरी जनकपुर, हेमजङ्ग गुरुङ, तोरणबहादुर गुरुङ र धार्मिक संगठनका अध्यक्ष पुष्पराज पुरुष सहितको टोली लमजुङ, गोरखा र तनहुँ पुगिसकेका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार खटिएका केन्द्रीय प्रतिनिधिहरु आइतबार साँझसम्म तोकिएका ठाउँमा पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्