गुट फेरि–फेरि मन्त्री भइन् राई

लोकपाटी न्यूज

काठमाडौं। पूर्वमन्त्री शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई प्रदेश मन्त्री पाउने भएपछि ओली समूहमा फर्किएको पुष्टि भएको छ। प्रतिनिधिसभा विघटन भएसँगै नेकपा दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहको संसदीय दलको बैठकमा सहभागी भएका थिए। तर पछि केही दिनमै नेकपाको प्रचण्ड–माधव नेपाल पक्षमा फर्किएका थिए। अहिले फेरि मन्त्री पाउने भएपछि ओली समूहमा फर्किएको पुष्टि भएको छ।

तामाङ मात्रै होइन उनकी श्रीमती उषाकला राईसमेतले कहिले ओली गुट र कहिले नेपाल गुट परिवर्तन गर्नु गरेकी थिइन्। जसका कारण उनीहरुलाई अस्थिर नेताका रुपमा समेत नेकपा नेता कार्यकर्ताले हेर्ने गर्छन्। अहिले तामाङ दम्पतीले गुट परिवर्तन गर्नुको रहस्य मन्त्री पद भएको पुष्टि भएको छ। तामाङ पत्नी उषाकला राई प्रदेश–१ को सामाजिक विकासमन्त्री हुने पक्का भएपछि गुट परिवर्तनको रहस्य खुलेको हो।

त्यसैको लागि तामाङ दम्पती कहिले ओली र कहिले नेपाल गुटमा लागेका थिए। उषाकला राई र मुख्यमन्त्री शेरधन राईको दबाबमा तामाङ दम्पती गुट परिवर्तन गरेका थिए। उषाकला र शेरधन आफन्त पर्ने बताइन्छ। शुक्रबार प्रदेश–१ को मन्त्रिपरिषद् विस्तारमा शेरधनले उषाकलालाई मन्त्री बनाएका छन्। मन्त्रीको लोभमा तामाङले कहिले ओली र कहिले नेपाल गुटमा लागेको नेकपा नेता कार्यकर्ताको आरोप लागेको छ। तामाङले संघीय सरकारमा मन्त्री नपाएपछि उषाकलालाई मन्त्री बनाएको बुझिएको छ।

सिन्धुपाल्चोककै दावा लामालाई खेलकुद मन्त्री बनाएपछि तामाङले मन्त्री पद गुमाउनु परेको थियो। नेकपा एकै हुँदा संसद विघटनपछि माओवादी केन्द्रका लामालाई ओली सरकारले मन्त्री बनाएको थियो । नेकपा विभाजनपछि पनि दावा एमालेमै छन्। २०७४ को निर्वाचनमा लामा तामाङसँग पराजित भएका थिए ।