केन्द्रीय समिति बैठकअघि माधव नेपालले भेटे प्रचण्डलाई

Prachanda_Nepal_Nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ। नेता नेपालले आफूपक्षीय केन्द्रीय सदस्यहरुको कलंकीमा हुने बैठकमा जानुअघि प्रचण्डलाई भेटेका हुन्।

बिहीबार व्यावसायी चन्द्रलाल श्रेष्ठको घरमा भेटेका दुई नेताबीच आज कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा वार्ता भएको हो। दुवै नेताबीच आजको भेटमा केपी शर्मा ओलीसँगको विवाद र पार्टी एकताबारे छलफल भएको स्रोतले बताएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही समययता पार्टीको नाम फेरेर अन्य शक्तिलाई भित्र्याउने अभ्यासमा छन्।

प्रचण्डले आफूलाई छाडेर गएका माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेता तथा पार्टीसँग एकता प्रयास गरिरहेका छन्।

ओलीले स्पष्टीकरण सोधेपछि एमाले विभाजनतर्फ अघि बढिरहेका बेला नेता नेपालले प्रचण्डसँग बाक्लो भेटघाट गरिरहेका छन्। बिहीबार दुई नेताबीच नेकपा खारेजीविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनमा जाने बारेमा कुरा भएको थियो।

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसहित चारजनालाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिसकेका छन्। नेपालसहित चारै जनाले स्पष्टीकरणको जवाफ पनि पठाइसकेका छन् ।