नेपाल पक्षले किन डाक्यो सांसदहरूको भेला ?

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले संसदीय दलको बैठक अघि आफूनिकट सांसदको भेला बोलाएको छ। प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रवार दिउँसो ३ बजे बालुवाटारमा संसदीय दलको बोलाएका छन्। उक्त बैठकमा नेपाल पक्षका सांसदहरू पनि सहभागी हुने बताइएको छ।

तर संसदीय दलको बैठक अघि नेपाल पक्षले सांसदहरूको भेला बोलाएका छन्। यो पक्षले आजै बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। केन्द्रीय समितिको बैठकपछि सांसदहरूको बैठक बोलाइएको नेपाल समूहका एक सांसदले बताए। उनका अनुसार भेलामा संसदीय दलको बैठकमा जाने/नजाने भन्नेबारे छलफल हुने छ।

एमालेका मुख्य सचेतक विशाल भट्टराईले आगामी बजेटमा विकास निर्माणका योजना कसरी समेट्ने भन्ने विषयमा दलका सांसदहरूबाट सुझाव लिने, प्रतिनिधिसभा बैठकलाई कसरी प्रभावकारी बनाउने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा बैठकमा छलफल हुने बताए।

यसअघि नेपाल समूहले अध्यक्ष ओलीले पार्टी र दलको बैठक प्रधानमन्त्री निवासमा बोलाएकोले आफू सहभागी नहुने बताएको थियो। शुक्रबारको बैठकमा जाने नजाने भन्नेबारेमा खनाल-नेपाल समूहले सांसदहरूको भेलाबाट निर्णय गर्ने भएको छ। समूहमा रहेका अधिकांश सांसदहरूले भने बैठकमा गएर ओलीको कदमको प्रतिरोध गर्नुपर्ने शीर्ष नेताहरूलाई सुझाव दिएका छन्।