स्पष्टीकरण लेख्दै नेपाल समूहका नेता

madhav nepal team
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले नेता माधवकुमार नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टिकरण पत्र बुझाउने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा चैत ७ गते बसेको केन्द्रीय समिति बैठकले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

स्पष्टीकरण सोधिएका नेता भुसालले अहिले पत्रको जवाफ लेख्दै गरेको र आजै बुझाउने सम्भावना रहेको बताए। ‘हामी लेखिरहेका छौं, भ्याइयो भने आजै बुझाइन्छ,’ भुसालले भने। नेपालसहित चार जना नेताले पत्रको जवाफ छुट्टाछुट्टै बुझाउने तयारी गरेको एक नेताले बताए। उनका अनुसार, जवाफपत्र आजै पठाउने तयारी भएको छ।

‘अबेरसम्म पत्र पठाउने तयारी छ, अहिले नेताहरु पत्र लेख्दै हुनुहुन्छ,’ ती नेताले भने। राजनीतिक मुद्दामा केन्द्रित गरेर बुझाइने स्पष्टीकरण सार्वजनिक गर्ने तयारी छ। समूहले आफ्नो पक्षको रणनीति बनाउन (शुक्रबार) बस्ने केन्द्रीय समिति बैठक बोलाएको छ।