नेपाल पक्षले ओलीलाई कस्ताे साेध्दैछ स्पष्टीकरण ?

madhav nepal team
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले पार्टीको वैधानिक बैठक बोलाउन माग गर्ने तयारी गरेको छ। स्पष्टीकरणको जवाफ र प्रश्नहरू पठाउने क्रममा पार्टीको विधान अनुसार २५ प्रतिशतको हस्ताक्षरसहित स्थायी, पोलीटव्यूरो र केन्द्रीय कमिटी बैठक पनि बोलाउन माग गर्ने तयारी गरेको बुझिएको छ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलापछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका थिए। एमाले संस्थापनले २८ फागुनमा आफूनिकट सदस्यको केन्द्रीय बैठक बोलाई माओवादीबाट एमालेमा आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने, अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी हटाई केन्द्रीय कमिटीलाई महाधिवेशन तयारी कमिटी बनाउने र प्रदेश नेतृत्वको जिम्मेवारी हेरफेरको निर्णय गरेको थियो। नेपाल पक्ष पार्टीको विधान विपरीत गरिएका उक्त निर्णयको विरोधमा उत्रिएको छ।

नेपाल पक्षले फागुन २८ गतेको निर्णय सच्याउनुपर्ने माग गरेको थियो। तर ओलीले आनाकानी गरेपछि नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गरेर देशभर समानान्तर कमिटी बनाउन सुरु गर्‍यो। त्यसपछि ओली पक्षले पार्टीको विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो। बुधवार नेपाल पक्षका स्थायी समिति सदस्यहरूले स्पष्टीकरण, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल गरेको थियो।

छलफल बिहीबार पनि जारी छ। यहीबीच यो पक्षले शुक्रवार केन्द्रीय समिति बैठक बोलाएको छ। ओली पक्षले स्पष्टीकरण सोधेर पार्टी विभाजन गर्न खोजेको निष्कर्ष निकाल्दै नेपाल पक्षले त्यसको राजनीतिक र कानुनी उपचारका मामिलामा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो। साथै उक्त बैठकले पार्टीको वैधानिक बैठक बोलाउन अध्यक्ष केपी ओलीलाई आग्रह गर्ने नेपालनिकट एक नेताले जानकारी दिए।

ओलीलाई दिने स्पष्टीकरणको जवाफ र सोध्ने प्रश्नबारे पनि साझा निष्कर्ष निस्कियोस् भन्ने नेपाल पक्षले चाहिरहेको ती नेताले बताए। सोमबार काठमाडौंमा बसेको उक्त समूहका उपलब्ध स्थायी समिति सदस्यको बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ राजनीतिक रूपमा सामूहिक दिने निष्कर्ष निकालेका थिए। यद्यपि स्पष्टीकरणको जवाफ दिनका विभिन्न जिल्लाबाट कार्यकर्ताहरूले समेत बुँदागतरुपमा जवाफ लेखी नेता नेपाललाई पठाएको बताइएको छ।