नेपाल समूहकाे निर्णय : ओलीलाई स्पष्टीकरण साेध्ने तयारी

madhav kumar nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहले केपी ओली समूहलाई स्पष्टीकरण सोध्ने भएको छ। तीन दिने ओली समूहले पठाएको स्पष्टीकरणको जवाफ समयसीमाभित्रै दिने बताउँदै स्पष्टीकरणको जवाफसहित ओलीलाई पनि प्रश्न सोधेर जवाफ दिने तयारी भइरहेको जनाएको छ।

ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज सकिँदैछ। तीन दिनअघि एमाले महासचिव ईश्वर पोखरेलले बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएका थिए।

ओली समूहले पठाएको स्पष्टीकरण पत्रमा नेताहरुले पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेकाले कारबाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ। चैत ७ गते बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सो बैठकमा माधव समूहका नेताहरु अनुपस्थित थिए भने माधव समूहले बैठक बसिरहकै समयमा ५ बुँदे मागपत्र पठाएको थियो।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि अध्यक्ष ओलीले विधान विपरीत एकपक्षीय निर्णय गरेको भन्दै नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ।

नेता नेपालले ओलीको स्पष्टीकरणबाट आफू नतर्सिने बताएका थिए। उनले आफूहरू आत्मसमर्पण गर्न तयार नरहेको अभिव्यक्ति दिएका थिए। मंगलबार आफू निकट अनेरास्ववियुको भेलामा नेपालले ओलीले निर्देशन अनुसार काम गर्न स्थिति नभएको दाबी गरेका थिए।

स्पष्टीकरण सोधिएको पत्रमा नेकपा रहँदा उनीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’को मतियार बनेको, आधिकारिकताका लागि निर्वाचन आयोगलाई अनावश्यक दबाब दिएको, नेकपा एमालेमा आएपछि पनि पार्टीको निर्देशन विपरीत गुटगत गतिविधि गरेको, ओलीविरुद्ध षड्यन्त्र गरेको र पार्टी फुटाउन लागी परेको लगायतका आरोप लगाइएको थियो।