जसपा फुटनजिक : कुन नेता कतातिर ?

Jasapa leaders
लोकपाटी न्यूज

काठमाडौं। प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) मा सरकारमा जाने कि नजाने भन्ने विषयमा तीव्र मतभेद छ। जसपाभित्र पूर्वराष्ट्रिय जनता पार्टी (राजपा) पक्षधर ओली नेतृत्वकै सरकारले माग पूरा गरेमा जानुपर्ने तयारीमा छन्। तर पूर्वसमाजवादी पार्टी ओलीको विपक्षमा छन्।

संसद् विघटन, संविधानको कार्यान्वयन र संघीयता समाप्त पार्न ओली नै लागेको आरोप लगाउँदै पूर्वसमाजवादी पार्टीका नेताहरुले सार्वजनिक रुपमा ओलीलाई समर्थन गर्न नसकिने बताउँदै आएका छन्।

सोमबार पूर्वराजपाका सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक छलफलमा जुटेका थिए। छलफलमा ओली नेतृत्वको सरकारमा जाने विषयमा छलफल भएको भए पनि कुनै टुंगोमा नपुगेको एक सांसदले बताए।

जसपाका एक सांसदले भने, “हामीले अहिले ओलीलाई समर्थन गर्न हुँदैन भन्ने कहाँ लेखेको छ र ? हामीले भनेको त हाम्रो माग पहिले पूरा गर। माग पूरा भयो भने हामी ओलीकै सरकारमा जान पार्टीभित्र पनि दबाब दिन्छौँ। त्यसबेला हुँदैन भनेर कसले भन्छ ?”

सिंहदरबारमा भएको छलफलमा उपेन्द्र यादव र बाबुराम भट्टराई निकटका सांसद भने उपस्थित थिएनन्। पूर्वसमाजवादी समूहले नमाने पार्टी फुटाएर पनि सरकारमा जानुपर्नेसम्मको बहस पूर्वराजपा समूहभित्र चलिरहेको छलफलमा सहभागी एक सांसदले बताए।

तर जनता समावादी पार्टीका नेता राजेन्द्र महतोले अहिले पार्टीभित्र कुनै विवाद नरहेको बताए। उनले अहिले आफूहरुको माग जसले पूरा गरिदिन्छ उसैसँग सहकार्य हुने बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने पनि संविधान संशोधन हुने अवस्था नरहेको र रेशम चौधरी रिहा गर्नका लागि सम्भावना नभएको निष्कर्ष पूर्वराजपा समूहमा देखिएको छ।

त्यसैले ओली नेतृत्वको सरकारमा सहभागी हुँदा संविधान संशोधन गर्न नसके पनि चौधरी रिहाइ, थरुहट र मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गराउन सकिने भएकाले यही सरकार ‘कम्फर्टेबल’ हुने पूर्वराजपा समूहका नेताहरुको निष्कर्ष रहेको सोमबार छलफलमा रहेका एक सांसदको निष्कर्ष छ।

जसपा स्रोतका अनुसार भट्टराई आफ्नै नेतृत्वमा सरकार बनाउन सकिन्छ कि भन्ने कसरतमा पनि लागेका छन् । तर, जसपाले नेतृत्व गर्ने अवसर आए ठाकुर प्रधानमन्त्री बन्नुपर्ने मत पनि जसपाभित्र बलियो देखिएको छ।

उपेन्द्र र बाबुराम निकट सांसदहरुले पनि छुट्टै अनौपचारिक भेला गरिरहेको यादव निकटस्थ बताउँछन्।

ओलीसँग कुनै हालतमा मिल्न नहुने पक्षमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठ लगायत देखिएका छन्। उनीहरुले संविधानका पक्षधर शक्तिसँग मिलेर संयुक्त सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

तर, पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय, लक्ष्मणलाल कर्ण, अनिल झा लगायतका नेताहरु ओली सरकारमा जानुपर्ने पक्षमा छन्। केही दिनअघि ठाकुरले पार्टीमा कुनै जानकारी नदिई सत्ता साझेदारीका लागि ओलीसँग कार्यदल बनाएका थिए।

हाल जसपामा ३४ जना प्रतिनिधि सभा सदस्य छन्। एमालेका १२० सांसदमध्ये माधव नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस नगरेमा ओलीलाई सरकार रक्षाका निम्ति १५ सांसद भए पुग्छ। तर, जसपा फुट्दासमेत ठाकुर समूहमा बढीमा १३ सांसद उभिने भएकाले ओलीका लागि सरकारको रक्षा सहज देखिँदैन।

ओलीले नेपाल मजदुर किसान पार्टीको एक र राप्रपाका एक सांसदलाई पनि आफ्नो पक्षमा गणना गरेका छन्। संसद विघटन गर्दा नेमकिपा र राप्रपा दुवैले ओलीलाई समर्थन गरेका कारण उनीहरु ओली सरकारमा जाने लगभग पक्कापक्की छ। तर, माधव नेपाल समूहले फ्लोर क्रस गरेमा ओलीका लागि बहुमत पुग्दैन।

जसपाभित्र देखिएको किचलोकै कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका लागि अग्रसर नभएको विश्लेषण गर्न थालिएको छ। देउवाको मौनताले तत्कालका लागि जसपाको फुट रोकिन्छ कि पूर्वराजपाका नेताहरु मन्त्रीमण्डलमा सहभागी हुनका लागि फुटसम्म पुग्छन्, त्यो अहिल्यै भन्नसकिने अवस्था छैन। तर, जसपाको एकता संकटमा पुगेको छ।

गत वैशाख ८ गते प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर संघीय समाजवादी पार्टी फुटाउन खोजेपछि डा. भट्टराईको अग्रसरतामा मधेशवादी दलहरु एक ठाउँमा उभिएका थिए। तर, एकताको करिब १ वर्ष पुग्न लाग्दासमेत जसपाको एकताले गति लिन सकेको छैन।

डा. भट्टराई, यादव, राई लगायतका नेताहरु समाजवादी विचार मान्ने शक्तिहरुबिच ध्रुवीकरणको पक्षमा छन्। तर, ठाकुर, महतो लगायतका नेताहरु बुर्जुवा प्रजातान्त्रिक समूहसँग नजिक देखिन्छन्। त्यसैले पनि जसपाको एकता तत्कालको खड्गो टार्न प्रयोग गरिएको ट्याक्टिस हुने देखिएको छ।