विपिन अवस्थी
अदालतले ओलीको निर्णय उल्टाएपछि देशका ठूला पार्टीहरु नयाँ सरकार बनाउन प्रयासरत छन्। मुख्य रुपमा माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्ष ओलीलाई बिस्थापन गरी नयाँ सरकार बनाउन प्रयास गरेका छन्। तर, १ महिना बित्दासमेत सरकार गठनमा कुनै परिणाम आउन सकेको छैन।
ओलीले आफ्नो सरकार जोगाउन सम्भव भएका सबै उपाय अपनाएका छन्। माओवादीका नेता आफूतिर तान्ने, जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने र सरकारमा आउन नमाने फुटाउने, एमालेकै झलनाथ–माधव पक्षलाई तर्साएर फ्लोर क्रस गर्न रोक्नजस्ता उपाय उनले खोजेका छन्। यसले तत्कालका दृष्टिले ओली सुरक्षित देखिएका छन्।
पुस ५ गते ओलीले संसद भंग गरे। त्यसपछि नेकपा राजनीतिक रुपमा फुट्यो। संसद भंगबारे अदालतले ६६ दिनपछि फैसला गर्दै ओलीको निर्णयलाई उल्टायो। प्रचण्ड–नेपाल समूहले ६६ दिनसम्म प्रतिगमनका विरुद्ध भन्दै आन्दोलन गरे। तर, त्यो ६६ दिन ओलीले गाउँ–गाउँसम्म आफ्नो संगठन बनाउन खर्चिए।
सर्वोच्चले नेकपाको एकता खारेज गरिदिएपछि संगठनमा माओवादी कमजोर देखिएको छ। एमालेको नेपाल समूह प्राविधिक रुपमा अलग भएको छ। माओवादीका केही नेताहरु ओलीतिर लागेका छन्। माओवादीबाट ओलीतिर गएका धेरै नेताको संगठनात्मक प्रभाव छैन। तर, सुदूरपश्चिम प्रदेश र प्रदेश–२ मा त्यसको प्रभाव देखिँदैछ। यस्तो बेला पनि माओवादीको ध्यान संगठन बनाउनेतिर पुग्न सकेको छैन।
वाइसिएलले केन्द्रीय समितिको बैठक गरी सदस्यता थप्ने निर्णय गरेको छ। अनेरास्ववियू (क्रान्तिकारी) ले पनि आगामी १४ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका प्रदेश र जिल्ला तहका बैठकहरु पनि बसेका छन्। तर, त्यस्ता बैठकहरु औपचारिक निर्णयमा सीमित भएका छन्। नेता–कार्यकर्ता फेरि होलटाइमर भएर अभियान सञ्चालन गर्ने ठोस कार्ययोजना नआएसम्म सजिलै संगठन बन्दैन।
संसद अनिर्णयको बन्दी देखिन्छ। तत्काल नयाँ सरकार बनिहाल्ने अवस्था छैन। यता माओवादी नेताहरु संगठनमा होइन, सम्पूर्ण तागत सरकार बनाउन लगाएका छन्। भ्यागुतोको धार्नीजस्तो संसदीय अंकगणितमा माओवादी र माधव नेपाल पक्ष जति दिन अल्झिनेछ, त्यति उनीहरुको संगठन कमजोर हुँदै जानेछ।
ओलीले आफ्नो सरकार टिकाउन अनेकौं प्रचार गराएका छन्, त्यसमध्ये ठूलो प्रचार छ, प्रचण्ड र माधव नेपालहरुले देशका बारेमा सोचेनन्, कुर्सीका लागि मात्र सोचे। यो भ्रम चिर्न माओवादी जनतामा जानुपर्छ। त्यसका लागि ६ महिने संगठनात्मक अभियान चलाउन जरुरी छ। अनि त्यस्तो अनियानमा पार्टीका प्रदेश सदस्य र जिल्ला सदस्यलाई अनिवार्य गर्नुपर्छ। प्रमुख अतिथि मञ्च पुग्दासमेत फिल्डमा नआउने स्थानीय नेताबाट संगठन बन्दैन भन्ने हेक्का राख्नुपर्छ।
फागुन २३ को फैसलापछि माधव नेपाल समूहले सम्पूर्ण शक्ति संगठनमा लगाएको छ। उनीहरुले अनेमसंघ, युवा संघ र अनेरास्ववियुको राष्ट्रिय भेला गरिसकेका छन्। तर, माओवादी फेरि पनि पर्ख र हेरको दोधारमा अल्झिएको छ। यसले माओवादी फेरि पनि कमजोर बन्न सक्छ।
अहिलेकै अवस्था हेर्दा ढिलोचाँडो चुनाव हुन्छ। संसदले नयाँ प्रधानमन्त्री दिन नसकेको बहानामा फेरि संसद भंग हुने खतरा पनि उत्तिकै छ। त्यसपछि त जाने जनतामै हो। जनताले जहिले पनि चाहिन्छन्। त्यसैले माओवादीका नेताहरुले अरु सबै च्याँखे दाउ छोडेर जनतामा जानुपर्छ।



लोकपाटी न्यूज

