काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले गरेका कुनै पनि अवैध निर्णय नमान्ने बताएका छन्। मंगलबार माधवकुमार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले फागुन २८ गते बालुवाटारमा ओलीले गरेका अवैध निर्णयहरू कुनै पनि हालतमा नमान्ने बताएका हुन्।
रावलले ओलीले नवौँ महाधिवेशनको विधान मिचेर केन्द्रीय कमिटीमा नयाँ सदस्य भर्ती गरेको भन्दै उक्त निर्णय अवैध भएको बताए। रावलले प्रश्न गरे,‘नवौँ महाधिवेशनको विधानविपरीत अवैध निर्णय गर्ने मान्छेले हामीलाई अनुशासन सिकाउने ?’
शनिवार एमालेको केन्द्रीय समितिको बैठकले चार नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उक्त बैठकमा माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र उनीहरूको पक्षमा भएका नेताहरू सहभागी थिएनन्।
त्यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले दिएको कारबाहीको चेतावनीलाई बेवास्ता गर्दै नेपाल र खनाल पक्षले राजधानीमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो।
एमाले कार्यालय सचिव रिजालका अनुसार पार्टीको निर्णयबिना त्यस्तो गतिविधि गर्नुको कारणबारे चारै जना नेतालाई पठाइएको स्पष्टीकरण पत्रमा सोधिएको छ।
उनले भने, “पार्टीभित्र समानान्तर समितिहरू बनाएको देखियो। उहाँहरूले समानान्तर कार्यक्रमहरू गर्नुभयो जुन पार्टीमा निर्णय भएको छैन। त्यही भएर किन यसो गरेको हो भनेर सोधिएको हो।”
बिहीवार सकिएको असन्तुष्ट पक्षको भेलाले प्रधानमन्त्री ओलीले “आफ्नो गुटका सीमित व्यक्तिहरूबाहेक केन्द्रीय समितिका सदस्यहरूलाई जानकारी नगराई” विधान संशोधन, केन्द्रीय समितिका पदाधिकारी हेरफेर र नयाँ सदस्यहरू मनोनयन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको थियो।



लोकपाटी न्यूज

