काठमाडौं। संस्थापन पक्षले स्पष्टीकरण मागेर कारवाही प्रक्रिया अघि बढाउने देखिएपछि नेकपा एमालेको माधव नेपाल पक्ष अबको रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ। त्यसबारे छलफल गर्न आज नेपाल पक्षका स्थायी समिति सदस्यको अनौपचारिक बैठक बस्ने भएको हो।
बैठक बानेश्वरमा बस्ने बताइएको छ। एक नेताका अनुसार बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ। सम्भवत आजको बैठकले नेपाल पक्षको औपचारिक धारणा आउने बताइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला निर्णय हिजो माओवादीका साथ लागेर हिँडेका नेतालाई सिध्याउने अभियानमा केन्द्रित छन्। ओली पक्षीय शनिबार बसेको बैठकले नेता नेपालका प्रमुख सहयोगीको पहिचान गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। उक्त बैठक नेता नेपाल पक्षले बहिष्कार गरेको थियो।
नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको विषयमा नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई मुख्य जिम्मेवार ठहर्याइएको छ। त्यसकारण उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय ओली पक्षीय बैठकले गरेको थियो। उनीहरुमाथि गुटगत भेला गरेर पार्टीविरोधी गतिबिधि गरेको आरोप लगाइएको छ। भेला नगर्न निर्देशन हुँदाहुँदै नेकपा एमालेको ब्यानरमा भेला गर्नु अनुशासनको उल्लंघन भएकाले ठहर गरिएको छ।
तर स्पष्टीकरण मागिएको पत्र भने अहिलेसम्म पठाइएको छैन। स्पष्टीकरणका लागि उनीहरूलाई पत्र पठाउने तयारी भइरहेको ओली पक्षले गरेको जनाएको छ। ‘केन्द्रीय कमिटीको बैठकले निर्णय गरिसकेको छ। महासचिवले पत्र लेख्नुहुन्छ र जतिसक्दो छिटो पत्र पठाउने छौ,’ नेकपा एमालेका कार्यालय सचिव ईश्वरी रिजालले भने।
पार्टीको एउटा पक्षले बहिष्कार गरिरहँदा उनीहरूलाई सहभागी गराउनेतर्फ पार्टी निर्णय केन्द्रित छैनन्। उनीहरूमध्ये नेताहरूलाई कारबाहीका नाममा सिध्याउने र अरूलाई कमजोर बनाएर घुँडा टेकाएर पार्टीमा फर्किन बाध्य पार्ने खेलमा ओली देखिन्छन्। आफ्ना विपक्षीलाई बेवास्ता गर्दै ओलीले संसदीय दलको विधानसमेत संशोधन गर्दै आफूलाई थप शक्तिशाली बनाएका छन्। कुनै पनि सदस्यले पार्टी र संसदीयको हित विपरीत गतिविधि गरेको भन्ने लागेमा दलका नेतालाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार अध्यक्षमा रहने प्रावधान राखिएको छ।
संघ र प्रदेशका समानुपातिक सांसद हटाउन सक्ने अधिकार अध्यक्ष एवं दलका नेतालाई दिइएको छ। एमालेमा ओली पक्षका सदस्यहरूको उपस्थितिमा गरिएका यी निर्णयले अब माधव नेपाल पक्ष पार्टीबाट बाहिरियोस् भन्ने मनसाय राखेको प्रष्टै देखिन्छ। यता अध्यक्ष ओलीसँग नझुक्ने अभिव्यक्ति र एमाले छोड्न नसक्ने मनस्थितिको विरोधाभासमा नेपालले अब के गर्लान्? उनले के गर्ने भन्ने तय गरिसकेका छैनन्। ओलीले सोधेको स्पष्टीकरणकै सन्दर्भमा पनि नेपाल पक्षीय नेताहरूका बीचमा घनिभूत छलफल भइसकेको छैन। सोमबार उनीहरूले स्पष्टीकरणबारे सामूहिक धारणा पनि बनाउने तयारी गरिरका छन्।
यता जनवर्गीय संगठनहरुका भेला बोलाएर अलग नेतृत्व चयनको प्रक्रिया नेपाल पक्षले जारी राखेको छ। जिल्ला हुँदै तल्लो तहसम्म समानान्तर कमिटीहरु बनाउने क्रम बढेको छ। नेपाल पक्षमा एमालेभित्रै बसेर संघर्ष गर्ने कि तल्ला तहसम्म कमिटीहरु पुनर्गठन गरेर माओवादीसँग पुनः एकतामा जाने भन्ने दुवै कोणबाट बहस चलेका छन्। तर नेताहरु केही समय एमालेमै समानान्तर कमिटीहरुको अभ्यास गरेर अन्तरसंघर्षलाई उत्कर्षमा पुर्याउने पक्षमा देखिन्छन्।
पार्टीलाई सर्वोच्च अदालतको फैसलाले २०७५ जेठ २ गतेको अवस्थामा फर्काइदिएकाले सबै संरचनाहरु सोही ठाउँमा पुगेको तर्क नेपाल पक्षको छ। ओलीले त्यसलाई नमानेकोले फैसला कार्यन्वयनका लागि फेरि अदालत जानुपर्छ भन्ने बहस समेत नेपाल पक्षमा उठेको छ। यसबीचमा माओवादी अध्यक्ष प्रचण्ड एमाले र माओवादी ब्युँताउने फैसलाविरुद्ध न्यायिक पुनरावलोकनमा जाने तयारीमा छन्। नेपाल पक्षका बरिष्ठ अधिवक्ताहरुले प्रचण्डलाई साथ दिएका छन्।



लोकपाटी न्यूज

