काठमाडौं। जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम् पार्न लागेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुरसँग तुलना गर्दै डा. भट्टराईले उनलाई हटाउन नयाँ रणनीति आवश्यक रहेको बताए।
उनले बेलाबेलामा ओलीलाई अप्रत्यक्ष रूपमा यही शब्दले सम्बोधन गरिरहेका हुन्छन्। आज बिहान गरिएको ट्विटमा पनि उनले ओलीलाई यही शब्द प्रयोग गरेका छन्। भट्टराईले मिथकहरूबाट प्रेरणा लिनु पर्ने तर उही कुरा हुबहु दोहोर्याउन नहुने पनि भनेका छन्। ओलीले अनेकन् छल गरेर सबैलाई त्राहिमाम् पारेको भन्दै नयाँ रणनीतिको खोजी गर्नुपर्नेमा उनको जोड छ।
‘मिथकहरूबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्याउने हैन! भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले)वरदान फिर्ता लिनुसट्टा अर्काले (विष्णुले)छल गरेर वध गरेका थिए भन्दैमा अहिले कलीयुगमा पनि त्यही दोहोर्याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम् पार्ने भो,’ बाबुरामले भनेका छन्, ‘नयाँ रणनीति चाहियो!’



लोकपाटी न्यूज

