पौडेलले बोलाए आफू निकट नेताको भेला

Ramchandra_Poudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताको बैठक डाकेका छन्। आफ्नै निवास बोहराटारमा आज दिउँसो २ बजेका लागि पौडेलले बैठक बोलाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्न सक्रियता नदेखाएको भन्दै पौडेल सभापति शेरबहादुर देउवा पक्षसँग असन्तुष्ट छन्। वर्तमान राजनीतिक घटनाक्रमका साथै पार्टी महाधिवेशनका सन्दर्भमा समेत छलफल हुने बताइएको छ। कांग्रेस महाधिवेशन भदौ ७ देखि तोकिए पनि कार्यतालिका अनुसार कार्य भएको छैन। बैठक पौडेल निवास बोहोराटारमा बस्ने जानकारी गराइएको छ।

गत साता पौडेलले महामन्त्री शशांक कोइराला निवासमा आफू निकटका नेताहरूको भेला गरेर प्रधानमन्त्रीबाट ओलीको विकल्प खोज्नुपर्ने बताएका थिए। बैठक सकेर उनले सभापति देउवालाई फोन गरेर सरकारको नेतृत्व कांग्रेसले लिने गरी माओवादी केन्द्र र जसपासँग कुराकानी गर्न भनेका थिए।

तर देउवाले नयाँ सरकार बनाउन चासो देखाएका छैनन्। उनले परिस्थिति अनुकूल भइनसकेको र संसदमा अझै पनि ओली बहुमतमा रहेको बताउने गरेका छन्। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएकोले अहिले परिस्थिति परिपक्क भइनसकेको देउवाको भनाइ छ।