कारबाही सहन्छौं, तर ओली प्रवृत्तिसँग कुनै सम्झौता हुँदैन : राजेन्द्रकुमार राई

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य एवं माधव पक्षका नेता राजेन्द्रकुमार राईले संस्थापन पक्षले गर्ने कारबाहीले कम्युनिस्ट आन्दोलन नरोकिने जवाफ फर्काएका छन्। सामाजिक सञ्जालमार्फत राईले कारबाहीबाट जनप्रतिनिधि पद गए पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसँग कुनै सम्झौता नगर्ने उद्घोष गरेका छन्।

‘कारबाही हुन्छ, जनप्रतिनिधि पद नि जान सक्छ, आउने चुनाव नजितिएला तर पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसँग कुनै सम्झौता हुने छैन’, राईले लेखेका छन्, ‘न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ, त्यो राम्रोसँग थाहा छ र यो पनि थाहा छ, प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दार कम्युनिस्ट पार्टीभित्र जन्मिन सक्छ, इतिहासमा धेरै पटक जन्मिएका छन् तर पनि जनताको आन्दोलन, कम्युनिस्ट आन्दोलन रोकिएको छैन, रोकिने छैन !’

शनिवारको एमाले संसदीय दल र केन्द्रीय समिति बैठकले विधान संशोधन गरेर प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली बनाएको छ। नेकपा (एमाले)ले समानुपातिक सांसद राख्न र हटाउने सक्ने अधिकार पनि पार्टी अध्यक्षलाई नै दिएको छ। बैठकले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ५ नेतालाई कारबाही गर्ने निर्णय गरेको थियो। सोही विषयप्रति टिप्पणी राईले कारबाही गरे पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसँग कुनै सम्झौता नगर्ने बताएका हुन्।

सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि एमालेमा दुई खेमाबीच दूरी बढ्दै गएको छ। पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बोलाएको बैठक बहिस्कार गर्दै आएका छन्। दुई खेमाका नेताहरुबीच एक अर्काप्रति लक्षित गरेर टिप्पणी गर्दै आएका छन्। नेपाल खेमामा रहेका नेता राईले भेलामा वैचारिक राजनीतिक विषयमा खरो मत राख्दै आएका छन्।