काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले पठाएको सन्देश संसदीय दलको बैठकमा प्रस्तुत गर्न अनुमति दिएनन्। खनाल-नेपालले ओलीले बोलाएको बैठक बहिस्कार गर्ने विषयमा छलफल गर्न सांसदहरुलाई आकस्मिक रुपमा सिंहदरबार बोलाइएको थियो।
उक्त बैठकले किन ओलीले बोलाएको बैठक बहिस्कार गरेको भन्ने बारेमा पत्रमार्फत संसदीय दलको बैठकमा सन्देश पठाउने निचोड निकाल्यो। ३८ जना सांसदजना सांसदहरुको हस्ताक्षरसहित पत्र लिएर नेपाल-खनाल पक्षका नेता जीवनराम श्रेष्ठ, यज्ञ सुनुवार र सोम पाण्डे लगायतका नेता बालुवाटार पुगेका थिए।
बैठक चलिरहेकै बेला बिचमा छिरेका उनीहरुले पत्र वाचनका लागि ओलीसँग अनुमति लिए पनि ओलीले भने बाचन गर्न नदिएको नेपाल समूहका नेता जीवनराम श्रेष्ठले बताए। ‘बैठक चलिरहेकै बेला हामी पुगेका थियौ। हाम्रो असहमतिपत्र बाचन गर्छौं भन्दा प्रधानमन्त्रीले दिनु भएन। उहाँले मलाई बुझाउनुस् भनेपछि हामी बुझाएर फर्किएका छौं,’ उनले भने।
उक्त पत्रमा पार्टीको विधान अनुसार बैठक नबसेको भन्दै ओलीको आलोचना गरिएको छ। संसदीय दलको बैठक र केन्द्रीय कमिटी एकै दिन राखिनु विधान विपरीत भएको नेपाल-खनाल पक्षको जिकिर छ। ‘विधानको ब्यवस्था विपरीत मनोनयन गरिएका ब्यक्तिलाई समेल हुनेगरी केन्द्रीय कमिटीको बैठक समानान्तर एकै दिन राखिनुको आशयप्रति गम्भीर प्रश्न उठ्छ,’ पत्रमा भनिएको छ।
खनाल-नेपाल पक्षले पार्टी अध्यक्ष ओलीले बोलाएका बैठक बहिस्कार गरिरहेको छ। फागुन २८ गते केन्द्रीय कमिटीको बैठक बोलाएर एकलौटी निर्णय गरेको भन्दै ओलीविरुद्धको संघर्ष चर्काएका नेपाल-खनालले संसदीय दलको बैठकमा समेत आफ्ना पक्षका सांसदलाई सहभागी हुन दिएनन्। शुक्रवार साँझै स्थायी कमिटी बैठक बोलाएर ओलीले डाकेको शनिवारको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिस्कार गर्ने नेपाल-खनालले निर्णय गरिसकेका थिए।
के असहमति पत्रमा ? पढ्नुस् :
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/03/Nepal_khanal.pdf”]



लोकपाटी न्यूज

