खनाल-नेपाल समूहलाई स्पष्टीकरण सोध्‍ने एमाले संसदीय बोर्डको तयारी

uml
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको संसदीय बोर्डले एमालेका केही नेतालाई स्पष्टीकरण सोध्‍ने भएको छ। विशेषगरी पार्टीभित्र समानान्तर गतिविधि गरिरहेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षका केही नेतालाई स्पष्टीकरण सोधिने बुझिएको छ।

‘बोर्डको बैठकबाट पार्टीभित्र गुटगत प्रवृत्ति अथवा समूहगत प्रवृत्ति र व्यवहार रहिरहेमा त्यससम्बन्धी स्पष्टीकरण सोध्‍ने सम्बन्धमा निर्णय आजको संसदीय दलको बैठकबाट भएको छ,’ शनिबार बसेको संसदीय दलको बैठकपछि सांसद शेरबहादुर तामाङले भने।

शनिबारको बैठकमा प्रधानमन्त्रीले नै स्पष्टीकरणको प्रक्रिया अघि बढ्ने संकेत गरेका थिए। ‘प्रधानमन्त्री तथा संसदीय दलको नेता केपी शर्मा ओलीले केही संकेत गर्नुभएको छ। आजको बैठकबाट केही नेतालाई स्पष्टीकरणको दिशामा अगाडि बढिन्छ,’ तामाङले भने।

उनले क-कसलाई स्पष्टीकरण सोध्‍ने भन्‍नेचाहिँ स्पष्ट नभएको बताए। ‘सोध्‍नु नपर्ने पनि हुनसक्छ,’ उनले भने। यसअघि २७ सदस्यीय संसदीय बोर्ड बनाइने भनिए पछि शनिबारको बैठकले २९ सदस्यीय बनाएको तामाङले जानकारी दिए। चैत ५ गते २४ सदस्य चयन गरिएको थियो। अब पाँच जना थपिने छन्। त्यसपछि बोर्डको बैठक बस्‍ने उनको भनाइ छ।

उनले एमालेमा व्यक्तिगत रुपमा कुरा राख्‍न पाइने भए पनि समूहबद्धताको हिसाबले कुनै समूह नरहने बताए। त्यहाँ पार्टी अध्यक्ष र कुनै वरिष्ठ नेताको पनि समूह नहुने उनको भनाइ छ। ‘व्यक्तिगत रुपमा सहभागी बन्‍न पाउने कुरालाई दलको नेताले स्पष्ट पार्नुभएको छ,’ उनले भने।

शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले एमाले संसदीय दलको संशोधन गरिएको विधान पारित गरेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विधान पारित गरेको सांसद विन्दा पाण्डेले जानकारी दिइन्। आफू अनुकुलको विधान बनाएर खनाल-नेपाल समूहका नेता कार्यकर्तालाई कारवाही गर्ने तयारी पनि ओली समूहको छ।

कारवाहीको निर्णय अहिले केहीबेरपछि बस्ने केन्द्रीय कमिटी बैठकले गर्न सक्ने सम्भावना छ। ‘आजको बैठकले विधान पारित गरेको छ’ ओली समूहकी सांसद बिन्दा पाण्डेले भनिन् ‘विधान अनुसार गुटगत भेला गर्नेलाई कारबाही हुन्छ।’ यद्यपी आजको बैठकले खनाल-नेपाल समूहका नेता कार्यकर्तालाई कारवाही गर्नेबारे निर्णय नभएको उनले बताइन्।