नेपाल पक्षद्वारा एमाले संसदीय दलको बैठक बहिष्कार

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। शनिबारको बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन्। यसअघि गत बिहीबार बसेको बैठमा उनी सहभागी भएका थिएनन्। यता माधव नेपाल पक्षले शनिबारको केन्द्रीय समिति र संसदीय दलका दुवै बैठक बहिष्कार गरेको छ।

शुक्रबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यको बैठकले संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गरिएको निष्कर्ष निकालेको छ। संसदीय दलको बैठकपछि केन्द्रीय समितिको बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

१२ औँ केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक समिति बनाउने उनको भनाई छ। बैठकमा समसायिक राजनीतिको विषयमा छलफल हुने छ। संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ। यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो।

उक्त बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरुको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको थियो। संसदीय दलको निर्देशन नमाने कारबाही गर्ने निर्णय पनि बैठकले गरेको थियो। बैठकले आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन पनि सांसदहरुलाई आव्हान गरेको थियो। दलको निर्देशन नमाने विधानअनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय पनि संसदीय दलको बैठकले गरेको थियो।