काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था रोज्ने विषयमा फैसला गर्ने अधिकार नेपाली जनतालाई दिनुपर्ने बताएका छन्। जनताले दिने फैसला स्वीकार गर्न आफूहरू तयार रहेको प्रकाण्डले बताए। संसदीय व्यवस्थामा रहेका राजनीतिक पार्टीले दिने निकासले जनताको प्रतिनिधित्व गर्न नसक्ने भएकोले ‘संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था’बारे जनमत संग्रहमा जानु अति आवश्यक रहेको उनको भनाई छ।
संसदीय व्यवस्थामा जनताको प्रतिनिधित्व गर्ने भन्दा सत्ता प्राप्तिको खेल मात्र भइरहने प्रकाण्डको बुझाइ छ। त्यस कारण देशलाई निकास दिन वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता रहेको उनको भनाई छ। प्रकाण्डले भने, ‘उहाँहरूको आफ्नै कुर्सी र सत्ताको खेल हुन सक्ला। जनताको दृष्टिकोणबाट फोहोरी खेल हुन सक्ला तर फेरि पनि कागलाई बेल पाक्यो हर्ष न बिस्मात। त्यस कारण यो रोक्नुपर्छ र देशमा जे समस्या छ, त्यसको निकास निम्ति नयाँ नीति र कार्यक्रम बनाउनुपर्छ।’
उनले अगाडि भने, ‘हाम्रो कार्यक्रम, योजनामा जनताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्था हुने भन्ने फैसला गर्न जनतालाई दिऊँ भन्ने छ। जनमत संग्रहमा जाऊँ, जसमार्फत जनताले दलाल पूँजीवाद संसदीय व्यवस्था रोज्छन् कि वैज्ञानिक समाजवादी। जनताको विचारलाई सम्मानका साथ स्वीकारेर अगाडि बढौँ। यो व्यवस्थामा अरू चुनाव या पुनःस्थापनाको कुनै अर्थ छैन। जनतामा गएर बुझौं न।’
तर अहिलेको अवस्थामा जनमत संग्रहमा जान सम्भव नरहेको प्रकाण्डले बताए। अहिलेकै व्यवस्थामा आफूहरू चुनावमा जान नसक्ने उनको भनाई छ। उनले भने, ‘जनताले आफ्नोबारेमा आफैँ फैसला गर्ने प्रणाली दुनियाँमा सबैभन्दा लोकतान्त्रिक, समाजवादी हुन्छ। त्यसका लागि तयार हुनै पर्छ भन्ने अबको विकल्प हो। त्यसो हो भने उक्त कार्यक्रमलाई व्यवस्थापन गर्ने, त्यसविरुद्ध आउने चुनौती सामना गर्ने उपायहरू चाहिन्छ। त्यो उपाय भनेको प्रगतिशील संयुक्त सरकार बनाउने भन्ने छ, हाम्रो योजना। प्रगतिशील संयुक्त सरकारको नेतृत्व हामी गर्न चाहन्छौं। त्यसमा इमानदार कम्युनिस्ट क्रान्तिकारीहरू, प्रगतिशील लोकतन्त्रवादीहरू, यो देशको शक्ति जनता, लामो समयदेखि समाज, राष्ट्र र जनताको निम्ति योगदान दिइरहेका स्वतन्त्र व्यक्तिहरू हुन्छन्।’
प्रकाण्डले अगाडि भने, ‘अहिलेको यही व्यवस्थामा त न चुनावमा जान्छौं, न त सरकारमै। किनभने गएका कम्युनिस्टको अवस्था विचरा भइसक्यो, हामी सुरक्षित मानिस किन जान्छौं ? दलाल पूँजीवाद र संसदीय व्यवस्थाको खिलाफमा भएकाले चुनावमा हामी जाँदैनौं।’ संसदीय व्यवस्थाले सर्वहारा वर्गको प्रतिनिधित्व गर्नै नसक्ने उनको दाबी छ। प्रकाण्डले चुनावको टिकट प्राप्त गर्न करोडौं खर्च गर्नुपर्ने, चाकडी गर्ने पर्ने वर्तमान व्यवस्थालाई लोकतान्त्रिक व्यवस्था भन्न नमिल्ने तर्क गरे।
उनले भने, ‘संसदीय व्यवस्थामा सर्वेसर्वा सांसदहरू हुन्छन् र उनीहरूले कार्यकर्ता निर्माण गर्छन्। त्यसैलाई शक्तिको स्रोत भन्नुहुन्छ उहाँहरूले। आम जनताको कुरा छोडिदिनुस्, उहाँहरूकै पार्टीभित्रको इमानदार र ठुलो त्याग गरेका कार्यकर्ता चुनावमा उम्मेदवार नै नहुने भए। कारण-इमानदारिता र त्यागको मूल्य नै नहुने भयो। चुनावका लागि नेताको चाकडी गर्न सक्ने हुनपर्यो, टिकट प्राप्त गर्न करोडौँ खर्च गर्नुपर्ने भयो। सांसद बन्न पाँच-सात करोड खर्च गर्नुपर्ने भयो। यस्तो अवस्थामा मजदुर, किसान, दलित, महिला, जनजातिको प्रतिनिधित्व कहाँबाट आउँछ ? यसलाई कसरी भन्न सकिन्छ लोकतान्त्रिक व्यवस्था ?’
प्रकाण्डले अगाडि थपे, ‘तसर्थ, यसको अन्त्य गर्नुपर्छ र त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था चाहियो भन्ने धारणा हो हाम्रो। अहिलेको व्यवस्था नै गलत हो, अहिलेको संविधान जनताको संविधान भएन। देश र प्रणालीको नेतृत्व गर्नेहरू श्रमजीवी जनता नभएर दलाल पूँजीपति भए।’



लोकपाटी न्यूज

