काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रोजगारीका लागि खाडी र मलेसियाको जंगलमा श्रमिक निर्यात गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्। उनले उद्योग, कलकारखाना खोल्नेतर्फ राज्यले दीर्घकालीन नीति ल्याउनुपर्नेमा जोड दिए।
राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘नाफामा चलिरहेका ठूला उद्योगलाई २०४६ पछि निजीकरणका नाममा कौडीको मूल्यमा बिक्री गरेर ठूलो भ्रष्टाचार गरी उद्योगधन्दा तहसनहस पार्दैं श्रमिकलाई समेत विस्थापित बनाइयो।’
उनले कम्युनिस्ट र कांग्रेसको अदूरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भीर अवस्थामा पुर्याइएको दाबी गरे। थापाले कम्युनिस्ट र कांग्रेसको विकल्प राप्रपा भएकाले राप्रपाले अंगीकार गरेका विचारलाई आमनेपालीको घरदैलोसम्म पुर्याएर पार्टीलाई अग्रणी शक्ति बनाउने अभियानमा लाग्न नेताकार्यकर्तालाई निर्देशन दिए।
स्थापनाको छोटो अवधिमा देशभर संगठन गरेर प्रथम महाधिवेशन गर्न सफल भएकोमा टुकोनलाई धन्यवाद दिए। पार्टीको अधिवेशनको मिति नजिकै आईसकेकोले अधिवेशनको तयारी द्रुत बनाउन सक्रिय सदस्यता वितरणलाई तोकिएकै समयमा सम्पन्न गर्नसमेत थापाले कार्यकर्तालाई निर्देशन दिए।
पूर्वप्रधानमन्त्री एवं राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले हिन्दुराष्ट्र र राजसंस्था नेपालका लागि अपरिहार्य रहेको बताए। ।
टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटनसत्रमा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा, पार्टी नेता एवं नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणा, राप्रपाका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह लगायत विभिन्न ट्रेड युनियनका प्रतिनिधिले अधिवेशनको सफलताको शुभकामना दिएका थिए।



लोकपाटी न्यूज

